सर्लाही सदरमुकाम मलंगवामा हिजो १९ औँ राष्ट्रिय सूचना दिवस मनाइएको छ । दिवसको अवसरमा जिल्ला प्रशासन कार्यालयको सभा हलमा सूचनाको हकका सम्वन्धमा अन्तरक्रिया कार्यक्रम गरिएको हो । कार्यक्रममा नागरिक समाजका अगुवा तथा जिल्लाका संचारकर्मीले यहाँ सूचनाको हकको अवस्था दयनीय रहेको बताएका छन् । कुनै पनि सरकारी कार्यालय तथा निकायमा सूचना माग्न जाँदा विपक्षी झैँ ठान्ने गरिएको उनीहरुको गुनासो छ । कानूनी प्रावधानअनुसार आफै सार्वजनिक गर्नुपर्ने सूचनाधरी लुकाउने परिपाटी ब्याप्त रहेको सहभागी नागरिक समाजका अगुवा र संचारकर्मीले बताएका छन् । सर्लाहीका प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठले कार्यालय प्रमुख तथा कार्यालयहरुका सूचना अधिकारीहरुको बैठकमा सूचनाको हकको कार्यान्वयन र सहज ढंगले सूचना प्रवाह गर्न निर्देशन दिने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । छलफलमा जिल्ला हुलाक कार्यालय सर्लाहीका प्रमुख एवं हुलाक अधिकृत डुरदेव बरालले सूचनाको हकका प्रावधानसहित जिल्लाका सरकारी कार्यालयबाट प्रदान हुने सूचनाको अवस्था, सूचना अधिकारीको व्यवस्थालगायतबारे प्रस्तुतकरण राख्नुभएको थियो ।