जरायल र हमासका अधिकारीहरुले बन्धकको रिहाई सोमबार बिहानदेखि सुरु गर्ने तयारी भइरहेको जनाएका छन् । रिहाइको ठ्याक्कै समय भने केही घण्टा अघिमात्र थाहा हुने सम्भावना छ । बन्धक भएका नेपाली विपीन जोशी भने जिवित रहेको अनुमान गरिएको छ ।

 

युद्धविराम सम्झौताअनुसार इजरायली सेना गाजापट्टीको तोकिएको सीमासम्म फिर्ता भएलगत्तै बन्धकको रिहाई प्रक्रिया पनि अगाडि बढेको हो । हमासले ४८ जना बन्धकहरूलाई मुक्त गर्नुपर्नेछ । जसमा करिब २० जना अझै जीवित रहेको अनुमान गरिएको छ ।

इजरायलले बन्धकको सट्टामा करिब २ हजार जना प्यालेस्टिनी कैदीहरूलाई रिहा गर्नेछ । रिहाइ सुरु हुँदा बन्धकहरूलाई एउटै स्थानमा जम्मा गरेर वा विभिन्न स्थानहरूमा एकसाथ मुक्त गरिने अपेक्षा गरिएको छ ।

द टाइम्स अफ इजरायलका अनुसार इजरायली सरकारका बन्धक मामिला प्रमुख गाल हिर्शले बन्धकका परिवारलाई भनेका छन्, ‘तपाईं र हाम्रा प्रियजनहरू (बन्धकहरू)को रिहाई प्रक्रिया सोमबार बिहानदेखि सुरु हुनेछ भन्ने इजरायलको विश्वास छ ।’

हमास उच्च अधिकारी उसामा हमदानले पनि एएफपीलाई सम्झौताअनुसार कैदी अदला–बदली सोमबार बिहानदेखि सुरु हुने तय भएको जानकारी दिएका छन् ।

तर केही इजरायली स्रोतहरूका अनुसार बन्धक रिहाईमा अझै केही अनिश्चितता बाँकी छ । इजरायलको सञ्चार गृह च्यानल १२ ले एक वरिष्ठ इजरायली अधिकारीलाई उदृत गर्दै लेखेको छ, ‘समयसम्बन्धी सबै विवरण इजरायलका लागि अझै स्पष्ट छैनन् ।’ उनले हमासलाई जानाजानी ढिलाइ गरेको आरोप भने लगाएनन् । तर भौतिक तयारी प्रक्रियाका कारण ढिलाई भइरहेको बताए ।

रिपोर्टका अनुसार आवश्यक अवस्था पुगेमा रिहाई आइतबार रातिदेखि पनि सुरु हुन सक्छ । बन्धक हस्तान्तरणको समन्वय गरिरहेको अन्तर्राष्ट्रिय रेडक्रस समितिले दुवै पक्षसँग छलफल गरिरहेको जनाएको छ । ‘जीवित बन्धकहरू हामीलाई हस्तान्तरण गरिनेछन् । मृत बन्धकका अवशेष पनि हामीकहाँ ल्याइने अपेक्षा गरिएको छ,’ इजरायली सरकारका बन्धक मामिला प्रमुख हिर्शल भने, ‘मृत बन्धकका शवहरूलाई सम्मान गरी पहिचानका लागि फरेन्सिक मेडिकल इन्स्टिच्युटमा लगिनेछ ।’

अमेरिकी विशेष दूत स्टीभ विटकोफले शनिबार साँझ बन्धकका परिवारहरूसँगको भेटमा केही शवहरू फेला पार्न निकै कठिन हुन सक्नेप्रति चिन्ता जनाएका छन् ।

च्यानल १२ अनुसार विशेष दूतको यो कुरा सुनेपछि परिवारहरू अत्यन्त विचलित भएका थिए । उनीहरुले हरेक सम्भव प्रयास गरेर सबै बन्धकहरू फर्काउन आग्रह गरेका छन् । सीएनएनका अनुसार हमाससँगको सम्झौता अगाडि नै केही मृत बन्धकहरू फेला पर्न नसक्ने विषय प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको जानकारीमा छ ।

एक अधिकारीका अनुसार सातदेखि देखि १५ जनाको शवहरू फेला नपर्न सक्ने देखिन्छ । यसबारे इजरायली अधिकारीहरूले सार्वजनिक रूपमा पुष्टि गरेका छैनन् । तर, ती शव कुन व्यक्तिका हुन् भन्ने सुनिश्चित छैन । हमासले पनि यसअघि ७२ घण्टाको अवधिभित्र केही मृत बन्धकका शवहरू फेला पार्न कठिनाइ हुने अनुमान गरेको थियो ।

हिर्शले परिवारहरूलाई पठाएको सन्देशमा भनेका छन्, ‘इजरायलले प्राप्त शवहरूको पहिचानपछि एउटा बहुराष्ट्रिय कार्यदलले गाजामा अझै बाँकी रहेका शवहरू खोज्ने काम सुरु गर्नेछ ।’

उनका अनुसार हमासबाट शत प्रतिशत प्रयासको अपेक्षा गरिएको छ । ‘अन्तर्राष्ट्रिय टोलीको सहयोगमा यो मिशन पूरा गरी सबै मृत बन्धकहरूलाई इजरायल फर्काएर अन्त्येष्टि गरिनेछ,’ उनले भने ।