भारतको इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी (आइआइटी) मद्रासको ‘आविष्कार हाइपरलूप’ ले हालै नेदरल्यान्ड्समा सफलता हात पारेको छ।

विद्यार्थीको नेतृत्वमा आधारित आविष्कार हाइपरलूप समूहले सामाजिक–आर्थिक अनुसन्धानतर्फ पहिलो र प्राविधिक अनुसन्धानतर्फ एरोडाइनामिक्स विश्लेषणमा दोस्रो स्थान हात पारेको हो।

योसँगै यो समूह एसियाली देशहरूमा पहिलो र संसारभर चौथो भएको छ।

अविष्कार हाइपरलूपको सामाजिक–आर्थिक अनुसन्धान समूहमा नेपालकी प्रभा राई पनि छन्। उनले त्यहाँ के–कस्ता काम गरेकी छन् भन्ने जान्नुअघि हाइपरलूप भनेको के हो भन्ने बुझौं।

हाइपरलूप भनेको एकदमै उच्च गतिमा यात्रा गर्न सकिने प्रस्तावित यातायात प्रणाली हो। यसमा पड वा क्याप्सुल भनिने सवारी साधन हुन्छ। यो रेलको एक डब्बा जस्तै हुन्छ।

त्यो पड वा क्याप्सुल हावाको दबाब कम भएको ट्युब (सुरूङजस्तो) मा अत्यधिक गतिमा चल्छ।

हावाको प्रतिरोध कम हुने भएकैले यो प्रणालीमा पड वा क्याप्सुल हजार किलोमिटर प्रतिघन्टाको गतिमा चलाउन सकिन्छ। यो गति भनेको हाल भएका रेल वा हवाईजहाजको भन्दा निकै छिटो हो।

हाइपरलूपको अवधारणा सबभन्दा पहिले सन् २०१३ मा टेस्ला, स्पेसएक्स लगायत कम्पनीका सञ्चालक एलन मस्कले सार्वजनिक गरेका हुन्।