सर्लाहीको हरिवनमा एम्बुलेन्समार्फत लागुऔषध गाँजा ओसारपसार गर्ने प्रयासलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

हरिवन नगरपालिका–५, घुर्कौलीस्थित हिरालाल टोलमा नेपाल रेडक्रस सोसाइटी रामनगर बहुअर्वाको नाममा रहेको ज १ च १५५८ नम्बरको एम्बुलेन्सबाट ५१ किलो ५०० ग्राम गाँजा बरामद गरिएको हो। गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय हरिवनबाट प्रहरी टोली खटिएको थियो।

पछ्याउँदै गएपछि एम्बुलेन्सको पछाडिको भागमा बोराभित्र लुकाइ राखिएको गाँजा फेला परेको प्रहरी निरीक्षक चन्द्रकान्त अधिकारीले जानकारी दिएको छ।

सो क्रममा एम्बुलेन्स चालक रौतहटको यमुनामाई–४ सरुअठा निवासी ३७ वर्षीय सुरेन्द्र राय यादवलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

बरामद गरिएको गाँजा, एम्बुलेन्स र चालकलाई इलाका प्रहरी कार्यालय हरिवनमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यसअघि पनि गत शुक्रबार लालबन्दीबाट ५२ केजी गाँजासहित एक पिकअप भ्यानसहित एक व्यक्ति पक्राउ परेका थिए।