मलंगवा नगर संरक्षण तथा सुधार समितिले नगरभित्र बढ्दै गएको सडक तथा फुटपाथ अतिक्रमण हटाउन माग गर्दै जिल्ला प्रशासन कार्यालय सर्लाहीलाई ज्ञापन–पत्र बुझाएको छ।

समितिले सार्वजनिक सडक र फुटपाथमा पसल, ठेला, अस्थायी संरचना तथा विभिन्न सामग्री राखेर अतिक्रमण हुँदा यातायात आवागमनमा समस्या, सवारी जाम, दुर्घटनाको जोखिम वृद्धि हुनुका साथै आपतकालीन सेवामा समेत अवरोध पुगेको जनाएको छ। यसले नगरको सौन्दर्यीकरणमा नकारात्मक असर परेको समितिको ठहर छ।

ज्ञापन–पत्रमा प्रचलित कानुन तथा स्थानीय नियमअनुसार सार्वजनिक सडक र फुटपाथ अतिक्रमणमुक्त राख्न आवश्यक रहेको उल्लेख गरिएको छ। साथै, अतिक्रमण हटाउन विशेष अभियान सञ्चालन गर्नुपर्ने माग गर्दै त्यसका लागि जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, मलंगवा नगरपालिका तथा सम्बन्धित वडा कार्यालयको सहकार्य आवश्यक रहेको बताइएको छ।

मलंगवा नगर संरक्षण तथा सुधार समितिका अध्यक्ष चन्दन कुमार सिंहले नगरको व्यवस्थित विकास, सुरक्षित आवागमन र सुन्दर सहर निर्माणका लागि सबै निकायको सक्रिय भूमिका अपरिहार्य रहेको बताए।