मलंगवा,कात्तिक, १९ –मधेश प्रदेशमा एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेको मुख्यमन्त्री कृष्णप्रसाद यादव नेतृत्वको सरकारको भविष्य अन्योलमा परेको छ। तीन साता बितिसक्दा पनि राजनीतिक निकास निस्कन नसकेपछि कांग्रेस, एमाले र नेपाली कम्युनिस्ट पार्टीका शीर्ष नेताबीच सत्ता समीकरणबारे छलफल तीव्र भएको छ।

तीन दलबीच सहमति गरेर वर्तमान सरकारलाई नै निरन्तरता दिने प्रयास भइरहेको बताइएको छ। मुख्यमन्त्री यादव पनि शीर्ष नेताहरूसँग छलफल गर्न काठमाडौं पुगेका छन्। संवैधानिक व्यवस्थाअनुसार उनले समर्थन फिर्ता भएको ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्नेछ। विश्वासको मतका लागि ५२ सांसदको समर्थन आवश्यक छ।