मकवानपुर प्रहरीले लागुऔषध अफिम र गाँजासहित चार जनालाई पक्राउ गरेको छ । अफिमसहित दुईजना र गाँजासहित अन्य दुई जनालाई पक्राउ गरिएको हो । जिल्लाको राक्सिराङ गाउँपालिका– ५ बोटबारीनजिक हिँडिरहेका दुई युवालाई खानतलासी गर्ने क्रममा उनीहरूको साथबाट दुई किलोग्राम १४० ग्राम अफिम फेला पारेको हो ।पक्राउ पर्नेमा बाराको कलैया- ४ का दीपक साह र सिम्रौनगढ- ४ का शशी मुखिया रहेका छन् । उनीहरूलाई प्लाष्टिकले बेरेर राखेको अफिमसहित इलाका प्रहरी कार्यालय मनहरीको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।यसैगरी सोही स्थानमा तीन केजी २०० ग्राम लागुओषध गाँजासहित दुईजना पक्राउ परेका छन् । मनहरी- ७ का रबिन तामाङ र बलारम थिङलाई बाप्र ३–००५ प ९९२२ नम्बरको मोटरसाइकलमा लुकाइ ल्याएको उक्त गाँजासहित पक्राउ गरिएको प्रवक्ता अर्यालले जानकारी दिए । पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।