सर्लाहीको दक्षिणी ग्रामीण भेगस्थित सिसौटिया बर्थिङ सेन्टरमा सुरक्षित प्रसूति सेवा लिने महिला उल्लेख्य सङ्ख्यामा रहेका छन् ।जिल्लाभरका ३६ वटा बर्थिङ सेन्टरमध्ये सिसौटियामा प्रसूति सेवा लिनेको सङ्ख्या धेरै रहेको स्वास्थ्य कार्यालय सर्लाहीले जनाएको छ । यो बर्थिङ सेन्टरमा चालू आर्थिक वर्ष २०८१/८२ को सात महिनामा ३२६ जनाले सुरक्षित प्रसूति सेवा लिएका छन् ।साउनमा ४८ जना, भदौमा ५१ जना, असोजमा ४३ जना, कात्तिकमा ४७ जना, मङ्सिरमा ५२ जना, पुसमा ४० जना र माघ महिनामा ४५ जनाले प्रसूति सेवा लिएका बर्थिङ सेन्टरकी सिनियर अनमी ममता झाले जानकारी दिए । बर्थिङ सेन्टरबाट आर्थिक वर्ष २०७८/७९ मा ७७८ जना, आर्थिक वर्ष २०७९/८० मा ७२५ जना र आर्थिक वर्ष २०८०/८१ मा ५६७ जनाले प्रसूति सेवा लिएका थिए ।स्वास्थ्य चौकी सिसौटियाकै परिसरमा सञ्चालित बर्थिङ सेन्टरमा एक जना जनस्वास्थ्य निरीक्षक, दुुई जना सिनियर अहेब, एक जना सिनियर अनमी, एक जना स्टार्फ नर्स, दुुई जना अनमी, एक जना ल्याब टेक्निसियन, एक जना कार्यालय सहयोगी र एक जना स्वीपर कार्यरत रहेका छन् । स्वास्थ्य चौकी सिसौटियाका इन्चार्ज सरोजकुमार यादवका अनुसार बर्थिङ सेन्टरमा गोडैता नगरपालिकासहित नजिक पर्ने चक्रघट्टा, धनकौल, रामनगर, विष्णु र कौडेना गाउँपालिकाका गर्भवती प्रसूति सेवा लिन आउने गरेका छन् ।विश्वसनिय हिसाबले सेवा प्रवाह गरिरहेकाले आफूहरुकोमा बढी सेवाग्राही आउने गरेका स्वास्थ्य चौकी इन्चार्ज यादवले बताए । गर्भवती महिलाले बर्थिङ सेन्टरमा आएर प्रसूति सेवा लिँदा यातायात खर्चबापत एक हजार रुपियाँ र मापदण्डअनुसार चारपटक गर्भ परीक्षण गराउँदा थप आठ सय रुपियाँ प्रदान गर्ने गरिएको स्वास्थ्य चौकी सिसौटियाले जनाएको छ ।स्वास्थ्य कार्यालय सर्लाहीका प्रमुख डा. नवलकिशोर झाले प्रसूति सेवा लिने महिलाको सङ्ख्या र सेवाप्रवाहको अवस्थालाई मुल्याङ्कलन गरी सिसौटिया स्वास्थ्य चौकीलाई जिल्लामै पहिलो नम्वरमा राखिएको बताए । झाका अनुसार सिसौटियापछि हरिपुर नगरपालिकाको लक्ष्मीपुरकोद्राह बर्थिङ सेन्टर दोस्रो र चक्रघट्टा गाउँपालिकाको सुन्दरपुर बर्थिङ सेन्टर तेस्रो नम्वरमा रहेका छन् ।जिल्लाका सञ्चालित बर्थिङ सेन्टरहरुले सामान्य ढङ्गले हुने प्रसूति गराउने गरेपनि जटील अवस्थाका गर्भवतीलाई प्रादेशिक अस्पताल मलङ्गवा वा नगर अस्पताल लालबन्दीमा रेफर गर्ने गरेका छन् । यि दुुई अस्पतालमा शल्यक्रिया (सीएस) मार्फत प्रसूति सेवा उपलब्ध गराउने गरिएको छ ।बरहथवास्थित प्राथमिक स्वास्थ्य केन्द्र र हरिवनस्थित सासापुर स्वास्थ्य चौकीमा समेत सीएस सेवा प्रदान गर्न बरहथवा र हरिवन नगरपालिकाले पहल अघि बढाएका स्वास्थ्य कार्यालय सर्लाहीले जनाएको छ ।