जिल्लामा पुराना कम्प्युनिष्ट नेताको परिचय बनाएका सर्लाहीको हरिवन नगरपालिका–२, अत्रौलीका बलराम न्यौपानेको अहिले मुख्य पेसा हो, पशुपालन ।मोहन वैद्य नेतृत्वको पार्टीमा जिल्ला सेक्रेटरी रहेका न्यौपानेले राजनीति चटक्कै छाडेर हरिवन नगरपालिका–१, साँघुरी भन्ज्याङ पाखामा एक वर्षदेखि पशुपालन गर्दै आएका छन् । सुरुमा चारवटा बाख्रा, एउटा गाई र एउटा भैँसीबाट व्यवसाय सुरु गरेका न्यौपानेको प्रगति पशुपंक्षी कृषि फर्ममा एक वर्षको अवधिमा अहिले ८० भन्दा बढी खसीबाख्रा, सातवटा गाई, दुईवटा भैँसी भइसकेका छन् ।भर्खरै सकिएको गढिमाई मेलाको समयमा न्यौपानेले १०० भन्दा बढी बोका बिक्री गरेका छन् । जनतालाई ठग्ने, ढाँट्ने प्रवृत्तिका कारण राजनीति गर्ने नेता फठाहा हुन भन्ने सन्देश प्रवाह हुन थालेपछि राजनीति नै त्यागेर देश र अर्थतन्त्रको विकासका लागि आफैबाट सुरुवात गर्नुपर्छ भन्ने निष्कर्षसहित पशुपालन व्यवसायमा लागेको न्यौपानेले बताए ।न्यौपानेले आफ्नो पशुपालन फर्ममा तीन जनालाई रोजगारी प्रदान गरेका छन् । उनले पशुपालनको सोँच बनाएर तीन वर्षअघि नै आफ्नो साँढे चार बिघा जग्गामा डाले घाँसको विरुवा लगाएका थिए । “देशको अर्थतन्त्रलाई अघि बढाउनुपर्छ भन्ने उदेश्यले राजनीति छाडेर पशुपालन रोजेको हुँ”, न्यौपानेले भने, “पशुपालनमा मेरो यो प्रारम्भिक चरण हो, त्यही पनि फर्ममा दैनिक ५० लिटर दुध उत्पादन हुन्छ । त्यही दुधको आम्दानीबाट तीन जना कामदार सजिलै पाल्न सकिएको छ ।”कतिपय मानिसले सरकारी अनुदान खानका लागि व्यवसाय गरेर टाँट पल्टेको प्रशस्त देखेको भन्दै न्यौपाने आफू अनुदानको आश गरेर पशुपालनमा नलागेको बताए । “मैले सम्वन्धित निकायलाई राज्यले दिएको सुविधा अन्तर्गत पाउने छ भने दिनुस् नत्र भने मभन्दा राम्रो गर्ने अर्को कोही छ भने उसैलाई दिनुस् भन्ने गरेको छु,” न्यौपानेले भने, “यदि मलाई अनुदान रकम दिनुहुन्छ भने ५० प्रतिसत कमिसन चाहिन्छ भन्नुहुन्छ भने मलाई चाहिँदैन भन्ने गरेको छु ।”राज्यबाट अनुदानको आश गर्ने भन्दा पनि आफै केही गरेर देखाउँछु भन्ने सङ्कल्पसहित ३० वर्षदेखिको राजनीतिक यात्रा थाती राखेर व्यवसाय अघि बढाएको न्यौपानेको भनाई छ । न्यौपानेले बाख्रा, गाई र भैँसीपालनका लागि पराल, गहुँको भुसा र मुसुरोको भुसा खरिद गरेर ल्याउने गरेपनि अन्य घाँस आफ्नै बारीमा उत्पादन गरेका छन् ।करिव २५ लाख रुपियाँ लगानी गरेर पशुपालन सुरु गरेका न्यौपानेले अहिलेको आम्दानीबाट बैङ्कको ब्याज, कामदारको पारिश्रमिक र दैनिक खर्चलाई सजिलै धानिरहेका छन् । सुरुमा दुई वर्ष फर्म घाटामा जाने अनुमान गरेपनि अहिले लगानीकै चरणमा गाई, भैँसीको दुध र उत्पादन भएका खसीबोका बिक्रीबाट खर्च धान्न समस्या नरहेको उनको भनाई छ ।दुध बिक्रीबाट मासिक एक लाख रुपियाँसम्म कमाई भइरहेकाले त्यसैबाट दैनिक खर्च धानिरहेको न्यौपानेले बताए । फर्म निर्माण, घाँस उत्पादन, माउ गाई, भैँसी तथा बाख्रा खरिदमा भएको लगानीबाट अब धमाधम आम्दानी हुँदै जाने न्यौपानेको आश रहेको छ ।फर्ममा उत्पादन भएको मल सदूपयोग गर्न अढाई बिघामा उखु खेती समेत लगाएको न्यौपानेले बताए । फर्मबाट आगामी कात्तिकमा ४० ट्याक्टर भन्दा बढी मल निस्कने भएकाले पाँच बिघा जग्गा भाडामा लिएर उखु खेती गर्ने योजना रहेको न्यौपानेले सुनाए ।