नेपाल शिक्षक महासंघको गाउँ तथा नगर कार्य समितिले आज सर्लाहीका स्थानीय तहहरुमा ध्यानाकर्षण पत्र बुुझाएका छन् ।

शिक्षक–कर्मचारीमैत्री अग्रगामी विद्यालय शिक्षा ऐन ल्याउनुपर्ने मुख्य मागसहित प्रत्येक नगरपालिका तथा गाउँपालिकामा महासंघको नेतृत्वमा पुुगेका शिक्षकले पालिकाका प्रमुख तथा उपप्रमुख अथवा अध्यक्ष तथा उपाध्यक्षमार्फत सरकारलाई ध्यानाकर्षण पत्र बुुझाएका हुन् । महासंघसँग विगतमा नेपाल सरकारले गरेको सहमती कार्यान्वयन गर्न पनि माग गरिएको छ ।

शिक्षक र विद्यालय कर्मचारीका सबै मागमुद्दा सम्वोधन हुने गरी विद्यालय, विद्यार्थी, शिक्षक–कर्मचारीमैत्री अग्रगामी विद्यालय शिक्षा ऐन जारी गर्ने कामबाट राज्य अझै अनेक बहाना गरी भाग्ने प्रयत्नमा रहेको भन्दै नेपाल शिक्षक महासंघले आपत्ति जनाएको छ । देशव्यापी कार्यक्रम अन्तर्गत लालबन्दी नगरपालिकामा विभिन्न शिक्षक संघसंगठनका प्रतिनिधि, विद्यालयका प्रधानाध्यापक, शिक्षकलगायत नगरपालिका कार्यालयमा पुुगेर नगर उपप्रमुख कल्पनामाया पाख्रिनलाई ध्यानाकर्षण पत्र बुुझाइएको नेपाल शिक्षक संगठन लालबन्दीका अध्यक्ष गोविन्द आचार्यले बताए ।

विद्यालय शिक्षा ऐन संसदीय प्रक्रियामा रहेकै बेला आम शिक्षकको भावना विपरीत सरकारले निवृत्तिभरण सम्वन्धी अध्यादेश जारी गरेकोमा नेपाल शिक्षक महासंघले आपत्ति जनाएको छ । बालकक्षा शिक्षक, विद्यालय कर्मचारी र संस्थागत विद्यालयका शिक्षकको लागि उचित तलबमान, शिक्षकको गे्रड मिलान, शिक्षकको मर्यादाक्रम, शिक्षक अस्पताल, शिक्षक सरुवा कार्यविधिको खारेजी, मासिक तलब भुक्तानी, जस्ता सामान्य काम समेत नगरिएको नेपाल शिक्षक महासंघले गुनासो व्यक्त गरेको छ ।

देशव्यापी कार्यक्रम अन्तर्गत चन्द्रनगर गाउँपालिकामा गाउँपालिका अध्यक्ष राजकुमार महतोलाई ध्यानाकर्षण पत्र बुुझाइएको नेपाल शिक्षक महासंघ चन्द्रनगरका अध्यक्ष सरोज सिंहले बताए ।