जंगली हात्तीले सर्लाहीको ईश्वरपुर नगरपालिका–१३, ढापटोलमा एक विपन्न परिवारको घर भत्काइदिएको छ ।हात्तीले ८६ वर्षीया धनमाया तामाङको कच्ची घर भत्काइदिएको स्थानीय वीरबहादुर पाख्रिनले जानकारी दिए । आज बिहान ३ बजेतिर बस्तीमा आइपुुगेको हात्तीले तामाङको घर भत्काएर भित्र राखिएको धान, चामललगायतका अन्न खाइदिएको स्थानीयले बताएका छन् ।पाँचवटा हात्तीले खाना पकाउने कुकरसहित अन्य भाँडाकुुँडा समेत कुल्चिएर काम नलाग्ने बनाइदिएको स्थानीय वासिन्दा पाख्रिनले बताए । हात्तीको हुल आएर घरमा आक्रमण गर्न थालेपछि घरभित्र सुतिरहेका मानिसले भागेर ज्यान जोगाएका छन् ।हिँड्डुल गर्न नसक्ने ८६ वर्षीया धनमायालाई नातिनीले बोकेर सुरक्षित स्थानमा लगेकाले मानवीय क्षति टरेको गाउँलेको भनाई छ । अचानक गाउँमा देखा परेका जङ्गली हात्ती गाउँलेले होहल्ला गरेपछि उखु खेतभित्र छिरेका छन् ।केही सातादेखि नजिकै पर्ने महोत्तरीको गौशाला क्षेत्रमा आतङ्क मच्चाइरहेका जङ्गली हात्तीको समूह बाँके खोला हुँदै सर्लाहीतर्फ छिरेको हुनसक्ने स्थानीयको भनाई छ ।सागरनाथ वन विकास परियोजनाको जङ्गल नजिक पर्ने महोत्तरीको गौशाला र सर्लाहीको ईश्वरपुर नगरपालिका क्षेत्रमा वर्षेनि यो याममा जङ्गली हात्ती आएर स्थानीयको घर तथा बालीनालीमा क्षति पुु¥याउने गरेको छ ।