भक्तपुरको सूर्यविनायक नगरपालिका–९ नलिन्चोकमा बसमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।गएराति करिब आठ बजेतिर जगातीबाट साँगातर्फ जाँदै गरेको बा ३ ख ७४४० नम्बरको बसमा विपरीत दिशाबाट आउँदै गरेको बा ४४ प ७३४२ नम्बरको मोटरसाइकल ठोक्किएको थियो । त्यसपछि जगातीबाट साँगातर्फ जाँदै गरेको बागमती प्रदेश ०२–०५५ प २५९९ नम्बरको मोटरसाइकललाई समेत ठक्कर दिँदा तीन जना घाइते भएका थिए ।तीमध्ये बा ४४ प ७३४२ नम्बरको मोटरसाइकलमा सवार रामेछापको सुनापाती गाउँपालिका ४ घर भई हाल भक्तपुरको पाण्डुबजार बस्ने २१ वर्षीय तिम्बा दोर्जे तामाङको मृत्यु भएको हो ।इवामुरा अस्पतालमा उपचारको क्रममा गएराति करिब पौने नौ बजे उनलाई चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ । उनको निधारमा गम्भीर चोट लागेको थियो ।दुर्घटनामा भक्तपुरको सूर्यविनायक नगरपालिका ९ काँक्राबारी बस्न २४ वर्षीय साजन तामाङ र बागमती प्रदेश ०२–०५५ प २५९९ नम्बरको मोटरसाइकल चालक रामेछापको मन्थली नगरपालिका ११ घर भई हाल काभ्रेको पनौती बस्ने ३९ वर्षीय टिकाराम श्रेष्ठ घाइते छन् ।श्रेष्ठ राति नै अस्पतालबाट डिस्चार्ज भएका छन् भने तामाङको इवामुरा अस्पतालले थप उपचारका लागि मध्यपुर अस्पताल ठिमीमा रिफर गरेको छ । उनको मुखमा भित्री चोट लागेको उपचारमा संलग्न डाक्टरलाई उद्धृत गर्दै भक्तपुर प्रहरीले जनाएको छ ।बस चालक काभ्रेको पनौती नगरपालिका ७ घर भएका ५२ वर्षीय पुरुषोत्तम फाची श्रेष्ठलाई प्रहरी वृत्त जगातीले नियन्त्रणमा लिएको छ ।