महाशिवरात्रिको अवसरमा सर्लाहीका शिवालयहरुमा दर्शन तथा पूजाआजा गर्ने दर्शनार्थीको आज बिहानैदेखि भीड लागिरहेको छ ।विशेष गरी हरिपुर नगरपालिका ७ स्थित चिताइनमा दर्शीनार्थीको धेरै नै भीड लागेको मन्दिर विकास समितिका अध्यक्ष राजेन्द्र धामीले जानकारी दिए । धामीका अनुसार बिहान ३ बजेदेखि नै दर्शनार्थीहरु लाइनमा बसेर मन्दिरको दर्शन तथा पूजा गरिरहेका छन् ।चिताइनमा छाला सम्वन्धी रोग निको हुने र मनोकाक्षा पूरा हुने विश्वाससहित आज धेरै दर्शनार्थीले भान्टाको भार र धानको मट्का (मौर) चढाउने परम्परा छ । सर्लाही र आसपासका छिमेकी जिल्ला तथा भारतबाट समेत आएका गरी चिताइनमा आज एकैदिन करिव ५० हजार जनाले अवलोकन गर्ने अनुमान गरिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष धामीले बताए ।चिताइन मन्दिरमा सुरक्षार्थ बिहानैदेखि बाक्लो मात्रामा नेपाल प्रहरी र सशस्त्र प्रहरी तैनाथ भएका छन् । यो वर्षदेखि मन्दिर विकास समितिले सीसी क्यामेरा समेत राखिएको जनाएको छ ।मन्दिर परिसरमा आजैदेखि आगामी २० गतेसम्मका लागि चिताइन मेला सुरु भएको छ । शिवरात्रिको अवसरमा मेला परिसरमा आयोजित प्रदेशस्तरीय भलिबल प्रतियोगिता भोलीदेखि सुरु हुने आयोजकका चेतनारायण धामीले बताएका छन् ।चिताइन मेलाकै लागि भनी हरिपुर नगरपालिकाले आफ्नो नगरपालिकाभित्र भोली बिहीबार स्थानीय बिदा दिएको छ । महाशिवरात्रिको अवसरमा चिताइनसहित लालबन्दीको अक्लेश्वर महादेव मन्दिर डुमडुमे, हरिवनको चतुुर्भूजेश्वर महादेव मन्दिर सुखेपोखरी, हरिवनकै कैलाशपुरी महादेव मन्दिर, मुर्तियाको मुक्तेश्वर बाबाधाम, ईश्वरपुरको सागरनाथ महादेव मन्दिरसहित गाउँगाउँका शिवालयमा बिहानैदेखि दर्शनार्थी पुगिरहेका हाम्रा संवाददाताले जनाएका छन् ।यसैबिच, महाशिवरात्रि पर्व आज देशभरका शिवालयमा विधिपूर्वक पूजा, आराधना एवम् दर्शन गरी मनाइँदै छ । शिवजी उत्पत्ति भएका रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा मनाइन्छ ।व्रतमध्ये सर्वोत्तम कहलिएको महाशिवरात्रिका दिन आज भक्तजनले शुद्ध भई शिव मन्दिरमा पूजाअर्चना गरी व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्छन् । आजको दिन भगवान महादेवलाई जाडो हुने जनविश्वासले हरेक घर, चोक र मठमन्दिरमा दाउरा मागेर धुनी जगाई भजनकीर्तनका साथ आगोमा प्रसाद बनाई ग्रहण गरिन्छ ।महाशिवरात्रिको अवसरमा पशुपतिनाथमा बिहानैदेखि चहलपहल शुरू भएको छ ।