सर्लाहीको कौडेनामा आयोजित गाउँपालिका अध्यक्ष कप क्रिकेट प्रतियोगिता–२०८१ को उपाधि वडा नं. ४ मोतिपुरले जितेको छ ।कौडेना गाउँपालिका–१, स्थित देवधारी माध्यमिक विद्यालय लक्ष्मीपुर सुकचैनामा सम्पन्न प्रतियोगितामा वडा नं. ३ कौडेनालाई ७ विकेटले पराजित गर्दै वडा नं. ४ मोतिपुर च्याम्पियन बनेको हो । टस जितेर पहिले ब्याटिङ गरेको वडा नं. ३ ले १४ ओभरमा अलआउट हुँदै ७८ रन मात्रै बनाउन सक्यो ।७९ रनको लक्ष्य पछ्याएको वडा नं. ४ ले ८ ओभरमा ३ विकेट गुमाएर लक्ष्य पूरा गर्यो । जितसँगै वडा नं. ४ मोतिपुरले नगद २१ हजार रुपियाँसहित प्रतियोगिताको ट्रफी उचालेको छ ।उपबिजेता वडा नं. ३ कौडेनाले ११ हजार नगद र दोस्रो शिल्ड प्राप्त गरेको स्थानीय जगदिसकुमार यादवले जानकारी दिए । यादवका अनुसार प्रतियोगिताको बिजेता तथा उपबिजेता र उत्कृष्ट खेलाडीलाई गाउँपालिका अध्यक्ष रुपेश कुमार, सर्लाहीका सशस्त्र प्रहरी उपरीक्षक देवबहादुर चन्द, कौडेना गाउँपालिकाको विभिन्न वडाका वडाध्यक्षलगायत भएर पुरस्कार वितरण गरेका छन् ।फागुन ९ गतेदेखि सुरु भएको प्रतियोगितामा कौडेना गाउँपालिकाभित्रका ९ वटा टिमले सहभागिता जनाएका थिए ।