रौतहटको चन्द्रनिगाहपुर चोकबाट करिब २ किलोमिटर उत्तर लागेपछि आदर्श सामुदायिक वनको नर्सरी आउँछ। यही नर्सरी छेउमा पर्सा राष्ट्रिय निकुञ्जबाट डुल्दै आएको हात्ती ‘यमगज’ अलपत्र छ। ऊ राम्रोसँग हिँड्न सक्दैन। घाइते छ।

यसरी शिथिल भएको यमगजको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल छ। यमगजलाई हेर्न हरिया मकैको घोगा बोकेर पुग्ने मानिसहरूको भीड हुन्छ। त्यसपछि तस्बिर र भिडियो खिचेर फर्कन्छन्। यमगजको दाहिने खुट्टामा गम्भीर चोट लागेको छ।

सिकारीको सलबलाउने जंगलमा घाइते हात्ती बस्न थालेपछि स्थानीयले चिन्ता व्यक्त गरेका छन्। २०७० चैतमा यही जंगलमा चितवन राष्ट्रिय निकुञ्जबाट डुल्दै आएको गैँडालाई गोली हानी घाइते बनाइएको थियो। घाइते गैँडा उपचारका क्रममा दुई महिना पछि बित्यो। त्यही घटना यमगज माथि नहोस् भनेर स्थानीय सचेत बन्दै पिर गर्न थालेका छन् ।

उनीहरूले वन र नगरपालिकालाई उपचार र उद्धारका लागि भनिरहेका छन्। तत्कालै उपचार गरेर हात्तीलाई निकुञ्जमा लग्न दबाब दिइरहेका छन्। वडा नम्बर ३ का अध्यक्ष रवि देवकोटाले हात्तीको उपचारमा हेलचेक्र्याइँ गर्न नहुने बताए।