सर्लाहीको हरिवनस्थित चतुर्भूजेश्वर बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियुका हिमाल घिमिरे निर्वाचित भएका छन् ।

नेकपा एमाले निकट अनेरास्ववियु र नेपाली कांग्रेस निकट नेविसङ्घको संयुक्त प्यानलबाट सभापतिका उम्मेदवार घिमिरे प्रतिस्पर्धीको भन्दा दोब्बर बढी मत प्राप्त गरी सभापतिमा निर्वाचित भएका हुन् । घिमिरे ४४२ मत प्राप्त गरी बिजयी हुँदा उहाँका प्रतिस्पर्धी अखिल क्रान्तिकारीबाट सभापतिका उम्मेदवार अन्जिता भुजेलले २१३ मत मात्रै प्राप्त गरिन् ।

अन्य पदाधिकारी र सदस्यमा समेत अनेरास्ववियु र नेविसङ्घको पूरै प्यानल निर्वाचित भएको छ । क्याम्पसको स्ववियु सचिवमा रोहन उप्रेती ४०३ मत प्राप्त गरी निर्वाचित हुँदा प्रतिस्पर्धी अभिषेक बानियाँको पक्षमा २४८ मत खसेको छ ।

कोषाध्यक्षमा स्मृति श्रेष्ठ ४०९ मत प्राप्त गरी बिजयी हुँदा उनका प्रतिस्पर्धी सञ्जयकुमार महतोले २३४ मत प्राप्त गरेकी छन् ।

यसैगरी सदस्यहरुमा श्यामजनक ठाकुर ४१०, पुण्यप्रसाद लुईटेल ४२१, अविना दाहाल ४१४, एलिसा सिंजाली ४१० र रितिस महर्जन ४०७ मत प्राप्त गरी निर्वाचित हुनुभएको निर्वाचन समितिले जनाएको छ ।

स्ववियु निर्वाचनमा ८२८ जना मतदाता विद्यार्थीमध्ये ६६७ जना विद्यार्थी सहभागी भएर मतदान गरेका स्ववियु निर्वाचन अधिकृत डा. हरिलाल मैनालीले जानकारी दिए ।