हरिवनमा रहेको इन्दुशङ्कर चिनी उद्योगले यस वर्ष किसानबाट खरिद गरेको सम्पूर्ण उखुको भुक्तानी दिएर सकेको दावी गरेको छ ।

उद्योगले चालु क्रसिङ सिजन २०८१/८२ को उखु क्रसिङ सकेर बन्द भएको तीन हप्ताभित्रै उद्योगले किसानलाई सम्पूर्ण भुक्तानी दिएर सकेको हो । फागुन २९ गते बन्द भएको उद्योगले यो वर्ष ३० लाख ५२ हजार ७९२ क्विन्टल उखु क्रसिङ गरेको थियो ।

किसानलाई एक अर्ब ७६ करोड रुपियाँ भुक्तानी दिएको उद्योगका प्रशासकीय प्रवन्धक ठाकुरप्रसाद नेपालले जानकारी दिए ।

त्यस्तै १३ लाख ८० हजार १०४ क्विन्टल उखु क्रसिङ गरेर फागुन २१ गतेबाट बन्द भएको महालक्ष्मी चिनी उद्योगले किसानलाई ८५ प्रतिसत भुक्तानी दिइसकेको दावी गरेको छ । उद्योगका प्रशासकीय प्रवन्धक शिवशङ्कर महतोले उखु किसानको बाँकी रहेको करिव ५ करोड रुपियाँ बैशाख दोस्रो सातासम्म भुक्तानी गरिसक्ने बताए ।

त्यसैगरी ९ लाख २१ हजार क्विन्टल उखु क्रसिङ गरेर फागुन २४ गतेबाट बन्द भएको अन्नपूर्ण चिनी उद्योगले करिव ८० लाख रुपियाँ भुक्तानी गर्न बाँकी रहेको जनाएको छ । उद्योगका सञ्चालक शैलेन्द्र गुप्ताले सकेसम्म यही महिनाभित्रै बाँकी भुक्तानी सक्ने तयारी रहेको बताए ।