सर्लाहीमा केही दिनदेखि अनियमित विद्युत् कटौतिका कारण सर्वसाधारण हैरान भएका छन् ।

अत्यधिक गर्मीले प्रताडित बनेका सर्वसाधारण विद्युत् अनियमित हुँदा थप समस्यामा परेका हुन् । गर्मीमा पङ्खाबिना खलखल पसिना आएर एकैछिन बस्न नसक्ने अवस्था रहेका बेला पटकपटक बिजुली कटौति हुँदा मारमा परेको लालबन्दी नगरपालिका–५, मेजरगन्जका चिरन्जीवी खतिवडाले गुनासो गरेका छन् ।

राइस मिल सञ्चालन गर्ने खतिवडाले विद्युत अनियमित हुँदा सारै समस्या परेको बताए ।

सर्लाहीमा लालबन्दी, बरहथवा र मलंगवा तीनवटै वितरण केन्द्र अन्तर्गतको क्षेत्रमा छिनछिनमै विद्युत् कटौति हुने समस्या रहेको स्थानीयले गुनासो गरेका छन् । साँझको समयमा बिजुली अत्यधिक अनियमित हुने गरेको छ ।

रातिको समयमा पनि बत्ती कटिरहने समस्याले गर्मीमा सुत्नै नसक्ने अवस्था रहेको सर्वसाधारणले गुनासो गरेका छन् । बिजुली कटौतिका कारण जिल्लास्थित विभिन्न सरकारी कार्यालयको कामकाज समेत प्रभावित बनेका छन् ।

सदरमुकाम मलङ्गवास्थित जिल्ला प्रशासन कार्यालयमा बिजुली अवरुद्ध हुने बित्तिकै नागरिक र राष्ट्रिय परिचयपत्र दर्ताको काम ठप्प हुँदा सेवाग्राही मारमा परेका छन् । चर्को गर्मीमा लामो समय लाइनमा बस्ने गरेका सेवाग्राही विद्युत अनियमितताका कारण घण्टौँसम्म उभिन बाध्य हुने गरेका छन् ।

प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठले विद्युत अनियमित हुँदा सेवा प्रवाहमा असर परेको बताए । ब्याट्रीको चार्जले धानुन्जेल सेवा प्रवाह गर्ने गरिए पनि धेरैबेरसम्म बत्ती नआउँदा काम रोकिन पुुग्ने गरेको प्रमुख जिल्ला अधिकारी श्रेष्ठले बताएका छन् ।

बिजुली आउने जाने भइरहँदा निजी क्षेत्रमा पनि दैनिक सेवा प्रवाहमा समस्या परिरहेको छ ।

नेपाल विद्युत प्राधिकरणको मलङ्गवा वितरण केन्द्रका प्रमुख एवं इन्जिनियर उमेशकुमार यादवले हावाहुरी चलेर विभिन्न स्थानमा फल्ट हुँदा बिजुली अनियमित हुने गरेको बताए । मलङ्गवास्थित सवस्टेशनमा मङ्गलबार पोर्टेबल ट्रान्सफर्मर ९पिटी० पड्किँदा समस्या भएको र अहिले नयाँ ट्रान्सफर्मर जडान गरिसकिएको वितरण केन्द्र प्रमुख यादवले बताए ।

कुनै क्षेत्रमा प्राविधिक समस्या आउँदा सकेसम्म अन्यत्रको बत्ती सूचारु गरेर समस्या भएको क्षेत्रमा मात्रै बत्ती अवरुद्ध गरी मर्मतको काम गर्दै आएको नेपाल विद्युत् प्राधिकरण मलङ्गवा वितरण केन्द्रले जनाएको छ ।

यसैबिच, पूर्व पश्चिम राजमार्ग अन्तर्गत लालबन्दी र रानिगन्जको सीमा कालिन्जोर खोलामा पुलमा राजमार्ग विस्तारको क्रममा लाइन काटेर काम गर्नुपर्दा रानिगन्ज, परवानीपुर, घारिबथानलगायत भेगमा बिहानैदेखि बिजुली अवरुद्ध रहेको छ ।