सर्लाहीको हरिवन नगरपालिका–५, घुर्कौलीमा जङ्गली हात्ती आएर गएराति पुनः मकै बालीमा व्यापक क्षति गरेको छ ।

राति सिमसिम पानी परेका बेला आएको जङ्गली हात्तीले देवकुनदेवी महतो, बिजीलाल महरा, वीरबहादुर घिसिङलगायतको घोगा लागेको मकै खाएर र खुँदेर नष्ट गरेको हो । घुर्कौलीका स्थानीय हात्ती धपाउन रातभर जाग्राम बस्ने गरेका छन् ।

गएराति चट्याङसहित हावाहुरी र पानी परेकाले जाग्राम बस्न नसकेको र सोही बेला हात्ती आएर मकै बाली सखाप पारेको स्थानीय टेकबहादुर पाख्रिनले  जानकारी दिए । दुुई सातादेखि निरन्तर हात्ती आएर मकै बाली खाइरहँदा स्थानीय किसान चिन्तित बनेका छन् ।

सागरनाथ वन विकास परियोजनाको जङ्गल क्षेत्रमा आश्रयस्थल बनाएर बसिरहेका जङ्गली हात्तीले घुर्कौली, सानो जगतपुर, सखुवा, हजारबिघालगायत क्षेत्रमा पालैपालो मकै बालीमा पसेर क्षति पुर्याइरहेको छ ।

दुुई सातासम्म हात्ती आएर क्षति गरिरहँदा पनि क्षतिपूर्ति तथा हात्ती धपाउनका लागि कुनै निकायबाट सहयोग नपाएको किसानले गुनासो गरेका छन् । आज बिहान पनि प्रहरी आएर क्षतिको विवरण सङ्कलन गरेर लगेको तर दुुई सातासम्म कतैबाट क्षतिपूर्तिका लागि पहल नभएको किसानको दुःखेसो छ ।

डिभिजन वन कार्यालय सर्लाहीले भने संरक्षित वन्यजन्तु अन्तर्गत पर्ने जङ्गली हात्तीलाई नियन्त्रण गर्ने कुनै उपाय नै नरहेको र केही दिनपछि आफै निकुञ्जतर्फ फर्किएर जाने बताउँदै आएको छ ।