वैश्य समाजको पहिचान, उत्थान तथा सम्मानका लागि राष्ट्रिय वैश्य महासंघ नेपालको संगठन विस्तार अन्तर्गत प्रथम सर्लाही जिल्ला स्तरीय भेला तथा अधिवेशन मलंगवामा भव्य रूपमा सम्पन्न भएको छ।  कार्यक्रम विश्वनाथ प्रसाद साहको अध्यक्षता र राष्ट्रिय वैश्य महासंघ नेपालका अध्यक्ष प्रमेश्वर महासेठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। कार्यक्रममा मलंगवा नगरपालिकाकी उपप्रमुख शकुन्तला देवी साह, पूर्व मधेश प्रदेशसभा सदस्य पारस साह, राष्ट्रिय महासचिव राजेश्वर प्रसाद साह, राष्ट्रिय सचिव वजरंगी साह, मलंगवा नगरपालिका–८ का वडाध्यक्ष मुकेश जयसवाल, तथा रामनगर गाउँपालिका–७ का वडाध्यक्ष गौरीशंकर पंडित,कानु समाज सर्लाहीका अध्यक्ष मनोज साह लगायत विभिन्न जात समुदायका अगुवा तथा नेताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।कार्यक्रममा कानु,कलवार, रौनियार, सोनार, बनिया, सुढी, तेली,कुम्हाल लगायत ३५ वटा वैश्य जात समूहहरूको सहभागिता रहेको थियो। यस भेलामार्फत वैश्य समुदायबीच एकता, संगठन निर्माण तथा सामाजिक पहिचानको सशक्त सन्देश प्रवाह गरिएको आयोजकहरूद्वारा जनाइएको छ।

 

अधिवेशनको अन्त्यमा सर्लाही जिल्लाका लागि नयाँ कार्य समिति चयन गरिने जानकारी दिइएको छ। कार्यक्रममा विभिन्न वक्ताहरूले वैश्य समुदायको योगदान, समस्याहरू र भावी कार्यदिशाबारे धारणा राखेका थिए।