नेपाली कांगेस सर्लाहीले १४ वटा पालिकामा पुरानै सभापतिलाई पुनः जिम्मेवारी प्रदान गरेको छ ।

लामो समयसम्म पालिकास्तरको अधिवेशन हुन नसक्दा पार्टीको क्रियाकलाप गर्न समस्या भएपछि जिल्ला कार्य समितिले १३ औँ महाधिवेशनबाट चयन भएका सभापतिलाई अर्को व्यवस्था नहुन्जेलसम्म निरन्तरता दिने निर्णय गरेको कांग्रेस सर्लाहीका सचिव निरज कार्कीले उज्यालो अभियानसँग बताए । कार्कीका अनुसार जिल्लाका छ पालिकामा भने १३ औँ मआधिवेशनबाट निर्वाचित भएका सभापतिमध्ये कसैको निधन भएको र कोही पार्टी छाडेर अर्को पार्टीमा गइसकेका छन् ।

सभापतिको निधन भएका तथा पार्टी त्यागेका बागमती, बलरा, गोडैता, हरिपूर्वा र कविलासी नगरपालिका तथा विष्णु गाउँपालिकामा उपसभापतिलाई वा अरु कसैलाई जिम्मेवारी दिने भन्ने निर्णय अर्को बैठकबाट हुने जिल्ला सचिव कार्कीले सुनाए ।

पटक–पटकको प्रयासमा पनि पालिका अधिवेशन हुन नसकेपछि पार्टीलाई चलायन बनाउन भन्दै कांग्रेस सर्लाहीले १४ पालिकामा पुरानै सभापतिलाई निरन्तरता दिने निर्णय गरेको हो । पार्टीको यो निर्णयपछि नगरपालिकातर्फ मलङ्गवामा चन्द्रकिशोर साह, लालबन्दीमा प्रशान्त आचार्य, ईश्वरपुरमा बेचुप्रसाद तिमल्सिना, हरिवनमा रामशरण उप्रेती र हरिपुरमा धु्रवनारायण चौधरीले पुनः सभापतिको जिम्मेवारी प्राप्त गरेका छन् ।

यस्तै गाउँपालिकातर्फ कौडेनामा फेकु राय, धनकौलमा बैजनाथप्रसाद सिंह, बसबरियामा लालबाबु महतो, रामनगरमा राम एकवाल साह, चन्द्रनगरमा जयकरणसिंह दनुवार, ब्रम्हपुरीमा इन्दल यादव, पर्सामा हरिचन राय र चक्रघट्टामा रामजी साहलाई पार्टी सभापतिको जिम्मेवारी प्रदान गरिएको जिल्ला सचिव कार्कीले जनाए ।