रौतहट प्रहरीले बिहीबार बिहान स्रोत नखुलेको १२ लाखभन्दा बढी नगदसहित सर्लाहीका एक व्यक्तिलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा रामनगर गाउँपालिका–२ सर्लाही निवासी चन्दन पण्डित छन्।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी निरीक्षक रुद्रराज खरेलका अनुसार पण्डितलाई गौर भन्सार नजिक चेकजाँचको क्रममा नियन्त्रणमा लिइएको हो। भारततर्फबाट गौरतर्फ आइरहेका पण्डितको साथमा रहेको BR 03 J 9543 नम्बरको भारतीय मोटरसाइकल जाँच गर्दा उनीसँग रहेको झोलाबाट शंका लागेपछि तलाशी लिइएको थियो।

तलाशी गर्दा प्रहरीले झोलाभित्रबाट १२ लाख ७३ हजार ३ सय रुपैयाँ बराबरको स्रोत नखुलेको नगद फेला पारेको छ। तीमध्ये ९ लाख २८ हजार ५ सय रुपैयाँ नेपाली र २ लाख १५ हजार रुपैयाँ भारतीय रहेको प्रहरीले जनाएको छ।

पण्डितलाई मोटरसाइकलसहित नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय रौतहटमा राखी आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको छ।