सर्लाहीको ईश्वरपुर नगरपालिका–९, रामनगरमा पर्याप्त आकाशे वर्षाको कामना गर्दै मङ्गलबार दुई जना सांसदलाई हलो जोत्न लगाइएको छ ।

थारु समुदायमा लामो समय खडेरी गए गाउँका अगुवा तथा भद्रभलाद्मी व्यक्तिलाई नियन्त्रणमा लिएर हलो जोत्न लगाउने परम्परा छ । झमझम झरी पर्नुपर्ने साउन महिनामा पर्याप्त वर्षा हुन नसक्दा खेती प्रभावित भएको भन्दै रामनगरमा थारु समुदायका महिलाले सर्लाही क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य रामप्रकाश चौधरी र प्रदेशसभा सदस्य उर्मिला सिंह थारुलाई हलो जोत्न लगाएका हुन् ।

चौधरी र थारु रामनगरकै स्थानीय हुनुहुन्छ । गाउँका महिलाले प्रतिकात्मक रुपमा प्रहरीको जस्तै पोसाक लगाएर प्रतिनिधि सभा सदस्य चौधरी र प्रदेश सभा सदस्य थारुलाई पक्राउ गरेर खेतसम्म लगे र धान रोप्न लगाए ।

दुई जना सांसदलाई हलो समात्न लगाएर महिला आफैले जुवाको दुवै भागमा तानेर प्रतिकात्मकरुपमा धान रोपाइँ गरेका हुन् । महिलाले त्यस ठाउँमा वर्षाको कामना गर्दै महादेवको पूजा समेत गरेका छन् ।

सर्लाहीसहित मधेशका जिल्लाको अधिकांश भू–भागमा सोमबार वर्षा भएको थियो । यहाँ मङ्गलबार पनि मौसम धाम्मधुम्म भइरहेको छ ।