महोत्तरी र सर्लाही जिल्लाका विभिन्न धर्मका धार्मिक अगुवाहरूको सहभागितामा हानिकारक परम्परागत अभ्यास अन्त्य गर्न केन्द्रित दुई दिने कार्यशाला कार्यक्रम जनकपुरधाममा सम्पन्न भएको छ।निरन नेपालको आयोजना, सिविन नेपालको समन्वय, र सेव द चिल्ड्रेनको प्राविधिक सहयोगमा संचालन गरिएको उक्त कार्यक्रममा हिन्दु, इस्लाम र इसाई धर्मका अगुवाहरूले सक्रिय सहभागिता जनाएका थिए। कार्यशालाको उद्देश्य समाजमा व्याप्त हानिकारक परम्परागत अभ्यासहरूको अन्त्यका लागि धार्मिक अगुवाहरूको क्षमता अभिवृद्धि गर्नु रहेको थियो।

कार्यक्रममा निरन नेपालका केन्द्रीय अध्यक्ष भिक्षु पिया दासी महर्जन, कोषाध्यक्ष सुस्मिता तिवारी, सचिव देबी प्रसाद लम्साल, तथा निवर्तमान सचिव रेब इशु जंग कार्की सहित मजिदा खातुन लगायत थुप्रै धार्मिक अगुवाहरूको सहजीकरण तथा उपस्थिति रहेको थियो।

समापन सत्रमा सहभागीहरूलाई प्रमाणपत्र प्रदान गरिएको थियो र आगामी दिनमा हानिकारक अभ्यास अन्त्य गर्नका लागि साझा कार्य योजना निर्माण पनि गरिएको थियो।
अध्यक्ष भिक्षु पिया दासी महर्जनले आफ्नो सुझाव, राय र सन्देशमार्फत कार्यशालाको समापन गर्नु भएको थियो।