जनकपुरमा पत्रकारमाथि आक्रमण गर्ने वकिलहरू विरुद्ध कानुनी कारबाहीको मागसहित पत्रकारहरूले आज धर्ना दिएका छन् ।

नेपाल पत्रकार महासङ्घ धनुषा शाखाको नेतृत्वमा पत्रकारहरूले जिल्ला प्रशासन कार्यालय धनुषाको मूल गेट अगाडि बिहान ११ बजेदेखि धर्ना सुरु गरेका हुन् ।

धर्नामा बसेका पत्रकारहरूले “आक्रमण गर्ने वकिललाई कारबाही गर”, “प्रेस स्वतन्त्रताको रक्षा गर”, “पत्रकारलाई सुरक्षा देऊ” लगायतका नारा लेखिएका प्लेकार्डसहित विरोध जनाएका थिए ।

 

गत साउन २७ गते गुठी संस्थानबाट कानुनी प्रक्रिया पूरा गरी महासङ्घले लिजमा लिएको ४ कट्टा जग्गा संरक्षण गर्ने क्रममा नेपाल बार एसोसिएसन जनकपुरका पदाधिकारीसहितका वकिलहरूले पत्रकारमाथि आक्रमण गरेका थिए ।

आक्रमणमा परेर नेपाल पत्रकार महासङ्घ मधेस प्रदेशका अध्यक्ष श्याम बन्जारा सामान्य घाइते भएका थिए भने महासचिव शैलेन्द्र कुमार महतो ९क्रान्ति० को खुट्टा नै भाँचिएको थियो । त्यस्तै पत्रकार दिवाकर राय र अनिल निरालालगायत सामान्य घाइते भएका थिए ।

आक्रमणमा संलग्न वकिलहरूलाई कानुनी दायरामा ल्याउनुपर्ने माग गर्दै पत्रकारहरूले निरन्तर दबाबमूलक आन्दोलन गर्ने चेतावनी दिएका छन् । अध्यक्ष बन्जाराले यस विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई समेत जानकारी गराइसकेका छन् । प्रधानमन्त्री ओलीले पनि घटनाको निष्पक्ष छानबिन गर्दै दोषीमाथि कारबाही गर्न निर्देशन दिएका छन् ।