सर्लाहीको सदरमुकाम मलंगवा जिविस स्थित शहीद चोकमा मंगलवार महिला अधिकारकर्मी र विभिन्न संघसंस्थाले बहुविवाहको वैधीकरणविरुद्ध धर्ना कार्यक्रम गरेका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै महिला मानव अधिकार रक्षक संजालकी अध्यक्ष रम्भा झाले बहुविवाहलाई वैध बनाउने सरकारी प्रयास महिलामाथि प्रत्यक्ष विभेद र सामाजिक प्रतिगमनको संकेत भएको बताइन् । उनले भनिन्, राज्यले महिला अधिकारको संरक्षण प्रवर्द्धनमा पुनः प्रतिबद्धता जनाउनैपर्छ, नत्र हामी निरन्तर आन्दोलनमै रहन्छौं

धर्नामा मानव अधिकारकर्मी मुकेश कुमार मिश्र, बुधन साह, महिलाको क्षेत्रमा काम गर्ने दिवानी घिमिरे, रिना साह, दिव्या साहलगायत गैरसरकारी संस्थाका प्रतिनिधि सहभागी थिए ।

सहभागीहरूले बहुविवाहसम्बन्धी कानुन फिर्ता नलिएसम्म आन्दोलन जारी राख्ने चेतावनी दिएका छन् । धर्ना कार्यक्रममा मेरो शरीरमेरो अधिकार, संविधानले दिएको हक कागजमा किन भयो लक, नारी शोषण सहँदैन, बहुविवाह चल्दैन जस्ता नारा लगाइएका थिए ।

अध्यक्ष झाले आन्दोलनलाई चरणबद्ध रूपमा थप सशक्त बनाउँदै लैजाने घोषणा गरिन् ।