सर्लाहीको सदरमुकाम मलंगवामा महिला अधिकारको संरक्षण र संवैधानिक अधिकार सुनिश्चित गर्न दबाब अभियान अन्तर्गत महिला अधिकारकर्मीले बहुविवाहलाई बढावा दिने नयाँ कानूनविरुद्ध धर्ना कार्यक्रम दोस्रो दिन पनि जारी राखेका छन्।

जिल्लाका महिला अधिकारकर्मी मलंगवाको सहीद चोकमा दुई दिनदेखि धर्नामा बसेका छन्। उनीहरूले ‘बहु विवाह सहदैनौं’, ‘नारी शोषण बन्द गर’, ‘महिलाको संवैधानिक अधिकार सुनिश्चित गर’, ‘मेरो शरीर मेरो अधिकार’ जस्ता नारासहित पर्चा बोकेका छन्।

महिला मानव अधिकार रक्षक सञ्जाल सर्लाहीकी अध्यक्ष रम्भा झाले सरकारले महिलालाई थप पीडा हुने किसिमको कानून ल्याउन लागेकाले त्यसलाई रोक्न देशव्यापी अभियान अन्तर्गत सर्लाहीमा पनि धर्ना कार्यक्रम जारी रहेको जानकारी दिइन्।

धर्ना कार्यक्रममा नागरिक महासचिव शिवचन्द्र चौधरी, मानव अधिकार रक्षक सञ्जालका अध्यक्ष मुकेश कुमार, सुन्दर श्याम लगायत अन्य वरिष्ठ प्रतिनिधि उपस्थित थिए।

जिल्लामा महिला अधिकारको क्षेत्रमा काम गर्ने एक दर्जन बढी संघसंस्थाले केही दिनअघि प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठमार्फत नेपाल सरकारलाई ज्ञापन पत्र बुझाउँदै महिलालाई थप विभेद हुने गरी कुनै प्रकारको कानून नल्याउन चेतावनी दिइसकेका छन्।