काठमाडौँ – लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले आगामी चैत ६ र ७ गते केन्द्रीय महाधिवेशन आयोजना गर्ने निर्णय गरेको छ। पार्टीको केन्द्रीय कार्यालय बबरमहलमा साउन ८ र ९ गते बसेको विस्तारित बैठकले महाधिवेशन तयारी र संगठन सुदृढीकरणमा जोड दिने बताएको छ।

बैठकले तराई–मधेशमा देखिएका विभिन्न समस्या र चुनौतीप्रति सरकारको ध्यानाकर्षण गराउँदै तत्काल कदम चाल्न आग्रह गरेको छ। विशेषगरी बाढी र वर्षात्का कारण प्रभावित किसानका लागि आपतकालीन प्याकेज घोषणा, राहत र क्षतिपूर्ति कार्यक्रम तत्काल लागू गर्नुपर्ने बैठकको निष्कर्ष छ।

साथै, मधेशका जिल्लामा बारम्बार हुने खानेपानी अभाव, सडकको खराब अवस्था र बढ्दो अपराधप्रति सरकारको संवेदनशीलता आवश्यक रहेको बैठकले औँल्याएको छ। तराई–मधेश क्षेत्रमा मरुभूमीकरण र जलस्रोत सुक्दै गएको विषयलाई ध्यानमा राख्दै चुरे संरक्षणलाई प्राथमिकतामा राख्नुपर्नेमा पनि बैठकले जोड दिएको छ।

बैठकको अध्यक्षता लोसपा नेपालका केन्द्रीय अध्यक्ष महन्थ ठाकुरले गरेका थिए। उनले महाधिवेशन पार्टी सुदृढीकरण र जनताका मुद्दामा सरकारलाई दबाब दिने महत्वपूर्ण अवसर हुने बताए।

press-bigya.jpg