अन्तर्राष्ट्रिय बाल दिवस–२०२५ “मेरो दिन, मेरो अधिकार” नारासहित हरिपुर–८ स्थित हातिसार मैदानमा आयोजित १२ ओभरको मैत्रीपूर्ण क्रिकेट खेलमा हरिपुर नगरपालिका किशोरी टिम विजयी भएको छ।

ईश्वरपुर किशोरी टिमले दिएको ६५ रनको लक्ष्य पछ्याउँदै हरिपुर टिमले ६ विकेटको क्षतिमा ६६ रन बनाउँदै खेल आफ्नो पक्षमा पारेको हो। हरिपुरकी तोफा खातुन ‘म्यान अफ द म्याच’ घोषित भइन्।

खेलको अवसरमा नगर प्रमुख गोपाल पजियारले बालबालिका, विशेषगरी किशोरीहरूले खेलकुद मार्फत नेतृत्व विकास, बालविवाह रोकथाम र समावेशी शिक्षा प्रवर्द्धनमा ठूलो योगदान पुर्याइरहेको बताए। कार्यक्रममा अपाङ्गता भएका किशोरीहरूलाई पनि पहिलोपटक समावेश गरिएको थियो।

खेल ग्रामीण नारी उत्थान संघ–हरिपुर र सेभ द चिल्ड्रेनको साझेदारीमा, हरिपुर र ईश्वरपुर नगरपालिकाको समन्वयमा सञ्चालित ‘समुन्नति’ परियोजनाअन्तर्गत सम्पन्न भएको हो।

कार्यक्रममा वडा अध्यक्ष प्रेम हरि श्रेष्ठ, पुरुष क्रिकेट टोलीका कप्तान शत्रुधन मण्डल, पिण्डेश्वरनाथ युवा क्लबका अध्यक्ष धर्मेन्द्र चौधरी, ग्रामीण नारी उत्थान संघकी अध्यक्ष गोमा देवी न्यौपाने, परियोजना प्रबन्धक दीपक भण्डारीसहित स्थानीय युवा, खेलाडी र जनसमुदायको उल्लेखनीय सहभागिता रहेको थियो।