मधेस तथा मिथिलाञ्चलमा जिल्लाहरूमा बुधबार (आज) जुडशीतल पर्व उल्लासका साथ मनाइँदैछ। यो पर्वमा बिहानै घर र बस्तीका मान्यजन(ज्येष्ठ नागरिक)ले आफूभन्दा कान्छोलाई तालुमा जलसिँचन गरी थपथपाएर आशीर्वाद दिने चलन छ।

सूर्यको तापबाट व्याकुल मानव जीवनलाई शीतलता प्रदान गर्नु यस पर्वको उद्देश्य रहेको छ। ज्येष्ठ नागरिकले आफ्ना सन्तानलाई शीतल जलले ‘जुडाउनु’ को कारण हो– मस्तिष्कले शीतलता पाई वर्ष भरी काममा सफलता पाइरहुन्। यो पर्वमा सूर्य उदाउनु अघि आमाबुवा, काकाकाकी र हजुरबुवा तथा हजुरआमाहरूले एक हातमा चोखो पानी भरेको लोहोटा बोक्छन् र अँजुलीमा पानी लिएर परिवारदेखि छरछिमेकका आफूभन्दा साना सदस्यको टाउकोमा थपथपाएर आशीर्वाद दिन्छन्।

जुडशीतल प्रकृति पूजाको पर्व हो मैथिली भाषाका प्राध्यापक उमेशकुमार झा भन्छन्,‘जुडशीतलमा मानव मात्र नभई रुख बिरुवा समेतलाई जुडाउने(जलसिंचन) चलन छ। यस पर्वलाई मिठो खाने पर्वको रूपमा समेत लिइन्छ। विभिन्न किसिमका तरुवा, करीबरी, सजिनाको तरकारी(सजीवन), टिकुलाको चटनी लगायतका परिकार पकाई इष्टदेवलाई चढाई अनि मात्र भोजन गर्ने गरिन्छ। सो दिन(वैशाख २ गते) राती चुल्होमा आगो बालेर खाना पकाउन नहुने मान्यता चलिआएको छ।

अघिल्लो रात पकाएका बासी खाना खानाले शीतलता प्राप्त हुन्छ भन्ने जनविश्वासले यो चलनले निरन्तरता पाएको झा बताउँछन्। यस पर्वलाई सतुआइन तथा वैशाखी पनि भन्ने गरिन्छ। यसमा पुर्खाका लागि भनेर नलले भरेको घैँटो, सतुवा, जौ, आँपको टिकुँला तथा पङ्खा ब्राम्हणहरुलाई दान गर्ने परम्परा रहेको छ। साथै गृहिणीहरूले इष्टदेवलाई पुरैनिको पातमा सतुवा, सक्खर तथा आँपको टिकुलाबाट बनाइएको चटनी (आचार) चढाउने चलन छ।

आजैका दिनदेखि तुलसी चौरा वा शिव लिङ्गको छेउमा बाँस गाडेर त्यसमा गाग्रोमा पानी राखी त्यसको तलतिर सानो प्वाल पारेर कुश राखिन्छ। कुश भएर तुलसी चौरा वा शिव लिङ्गमा थोपा थोपा पानी झर्ने गर्छ। यस पर्वलाई हिलोको पर्व पनि भनिन्छ। सुकिसकेको इनार र पोखरीमा नयाँ जलले सिञ्चित गर्ने गर्छ। यो पर्वको साइत पारेर इनारको पानीमा चुना राखी तिनलाई स्वच्छ बनाउने ग्रामीण चलन छ।

आरामको क्षणमा आत्मीयता बढाउनका लागि मनाइने यो पर्वले भातृत्वको भावना तथा एक आपसमा प्रेम गर्ने सन्देश दिने गरेको छ। जुडशीतलको दिन खेत, खलिहान, आँगन, दलान, गाईबस्तु, रुख बिरुवासहित सबै जीव प्राणीलाई पानीले सिञ्चित गरेर शीतलता प्रदान गर्ने भएकोले यो पर्वलाई शान्ति, भ्रातृत्व, सद्भाव र प्रकृतिको पर्वको उपमा दिने गरिएको छ।

जुडशीतलको दिन कृषिमा आधारित तथा गाउँघरमा उत्पादित अन्न, फलफूल तरकारी र दूध दहीको परिकार खाने चलन छ। त्यस अवसरमा चिचिलोको तरुवा, सोहिजन(सजिनु)को तरकारी, करी र बडीजस्ता परिकार महत्त्वपूर्ण र अनिवार्य मानिन्छ।

विक्रम संवतको आधारमा आरम्भ हुने नयाँ वर्षको पहिलो र दोस्रो दिन यो पर्व मनाउने गरिन्छ। जुडशीतल दुई दिवसीय पर्व हो। पहिलो दिन वैशाख १ गतेलाई सतुवाइन भन्ने गरिन्छ भने दोस्रो दिन अर्थात् वैशाख २ गतेलाई जुडशीतल भन्ने गरिन्छ। गहुँ, जौ र बदामको सतुवाजस्ता भर्खरै फलेको सुपाच्य अन्न खाएर सुरु भएको नयाँ वर्षको उत्सव दोस्रो दिन अर्थात् वैशाख २ गते अति नै भव्य र धूमधामका साथ मनाइन्छ।

यो दिन पारेर सिराहाको महेशपुर पतारी गाउँपालिकामा रहेको ऐतिहासिक धार्मिक पताल पोखरीमा सन्तानको भाकल गर्दै नुहाउन आउनेको भिड लाग्छ।

त्यसैगरी, ब्रम्हान, पडकडियागढ, मानिक दहमा मेला लाग्छ। वैशाख १ गते फूलबारी मेला भर्न आएका भारत र अन्य जिल्लाका श्रद्धालु उल्लेखित मेला भरेर घर फर्कन्छ। यस पर्वमा आफ्ना खेतबारीका रुख बिरुवामा पानी सिञ्चित गरेर कहिल्यै पनि आवश्यक चिस्यानको कमी नहोस् भन्ने कामना गरिन्छ। मिथिलामा सबै जाति समुदायले मनाउने यो पर्वको आपसी सद्भाव, हेलमेल र सहकार्य मुख्य सन्देश रहेको छ।