सर्लाहीको चन्द्रनगर गाउँपालिकास्थित नाढीमन तालमा पाँचौँ नेपाल ग्रामीण चलचित्र महोत्सव–२०८३ अन्तर्गत पत्रकार सम्मेलन आयोजना गरिएको छ।

वैशाख १५ , १६ र १७ गते हुने महोत्सवलाई लक्षित गर्दै आयोजित कार्यक्रममा आयोजक संस्था सेलेब्रेटी नेपालले कार्यक्रमको उद्देश्य, तयारी तथा महोत्सवमार्फत ग्रामीण प्रतिभा प्रवर्द्धन गर्ने लक्ष्यबारे जानकारी दिएको छ। कार्यक्रममा चलचित्र विकास बोर्ड तथा चन्द्रनगर गाउँपालिकाको सहकार्य रहेको बताइएको छ।

आज चलचित्र पत्रकार संघका महासचिव रघुनाथ सापकोटाले महोत्सवले स्थानीय स्तरमा चलचित्र क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्दै दैनिक रूपमा विभिन्न भाषाका चलचित्र प्रदर्शन गरिने जानकारी दिनुभयो। साथै उत्कृष्ट चलचित्रलाई अवार्ड वितरण गरिने र महोत्सव सञ्चालनका लागि करिब १२ देखि १५ लाख रुपैयाँ खर्च हुने समेत उहाँले पत्रकार सम्मेलनमार्फत जानकारी दिनुभयो।

आगामी वैशाख १५ देखि १७ गतेसम्म सञ्चालन हुने महोत्सवमा नेपाली चलचित्र प्रदर्शनका साथै विभिन्न सांस्कृतिक कार्यक्रमहरू आयोजना गरिनेछन्। यस महोत्सवले चलचित्र क्षेत्रको उथानसँगै नाढीमन तालको पर्यटन तथा समग्र विकासमा समेत टेवा पुग्ने विश्वास गरिएको छ।

गाउँपालिका कार्यालयमा सम्पन्न पत्रकार सम्मेलन कार्यक्रममा गाउँपालिका अध्यक्ष राजकुमार महतो तथा प्रमुख प्रशासकीय अधिकृत जय किशोर साहको समेत सहभागिता रहेको थियो।