१३ र १४ गते देशका अधिकाश क्षेत्रमा भारी वर्षा हुने सम्भावना रहेका ले नागरिक लाई सचेत रहन सतर्कता अपनाउन मौसम पुर्बानुमान माहशाखा ले सबै मा अपिल गरेको छ ।

बंगालको खाडीमा विकसित भइरहेको ‘अर्णव’ नामक चक्रवातका कारण नेपालका विभिन्न प्रदेशमा मौसम प्रभावित हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले विशेष मौसमी बुलेटिन जारी गर्दै कात्तिक १२ गते बिहीबारदेखि मौसममा उल्लेख्य प्रभाव पर्न सक्ने जनाएको हो।

 

महाशाखाका अनुसार बंगालको खाडीमा रहेको ‘अर्णव’ चक्रवात शक्तिशाली बन्दै जाने क्रममा छ। उक्त प्रणाली थप विकसित भई अति शक्तिशाली चक्रवातमा परिणत हुन सक्ने सम्भावना रहेको छ। त्यसपछि चक्रवात उत्तरपश्चिम दिशातर्फ अघि बढ्दै भारतको आन्ध्र प्रदेश र विशाखापट्टनमको बीचमा पर्ने यानम नजिक तटीय क्षेत्रबाट जमिनमा प्रवेश गर्ने सम्भावना रहेको बुलेटिनमा उल्लेख छ।

उक्त प्रणालीको प्रभावका कारण कात्तिक १२ गते बिहीबारदेखि विशेषगरी कोशी, बागमती, मधेश, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न क्षेत्रमा मौसम प्रभावित हुने अनुमान गरिएको छ।

महाशाखाले कात्तिक १३ गते शुक्रबारदेखि १४ गते शनिबारसम्म कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा र केही स्थानमा भारी वर्षा हुन सक्ने चेतावनी दिएको छ। लुम्बिनी प्रदेशका केही स्थानमा पनि मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा र थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाइएको छ।

त्यसैगरी कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुन सक्ने र एक-दुई स्थानमा भारी वर्षासमेत हुन सक्ने महाशाखाको पूर्वानुमान छ।

कृषि कार्यमा सतर्कता अपनाउन आग्रह:सम्भावित वर्षालाई ध्यानमा राख्दै महाशाखाले देशका पहाडी तथा तराई क्षेत्रका धेरै स्थानमा मध्यम वर्षा र केही स्थानमा भारी वर्षा हुन सक्ने भएकाले कृषि कार्यमा संलग्न किसानलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।

वर्षाका कारण कृषि बालीमा असर पर्न सक्ने भएकाले किसानले मौसमको अवस्थालाई ध्यानमा राखी कृषि कार्यको योजना बनाउनुपर्ने महाशाखाले जनाएको छ।उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी तथा हिमपहिरोको जोखिमसमेत हुन सक्ने भएकाले ती क्षेत्रमा यात्रा गर्ने पर्यटक तथा सर्वसाधारणलाई विशेष सावधानी अपनाउन अनुरोध गरिएको छ।

त्यस्तै, चिसो बढ्न सक्ने, सडक चिप्लो हुने, पहिरो जाने तथा सडक र हवाई यातायात प्रभावित हुन सक्ने सम्भावनालाई ध्यानमा राख्दै आवश्यक पूर्वतयारी गर्न महाशाखाले सबै सरोकारवाला निकायलाई आग्रह गरेको छ।

मौसमसम्बन्धी सूचना नियमित हेर्न अनुरोध:मौसम पूर्वानुमान महाशाखाले सम्भावित मौसमी प्रणालीको निरन्तर अनुगमन गरिरहेको र आवश्यकताअनुसार थप सूचना अद्यावधिक गर्ने जनाएको छ। सर्वसाधारणलाई मौसमसम्बन्धी आधिकारिक सूचना नियमित रूपमा हेर्न तथा सम्बन्धित निकायले जारी गरेका सुरक्षा सुझाव पालना गर्न अनुरोध गरिएको छ।