एभिन्युज टेलिभिजनका पत्रकार बखतियार अलिलाई गालीबेइज्जती तथा धम्की दिएको आरोपमा स्तुती सौम्य हेल्थ केयर मलंगवा–१० का सञ्चालक डा. गुणेश्वर झा पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय सर्लाहीले उनीविरुद्ध मुद्दा दर्ता गरी पक्राउ गरिएको जनाएको छ।

समाचार प्रकाशनको विषयलाई लिएर डा. झाले पत्रकार अलिलाई पटक–पटक अभद्र व्यवहार, गालीबेइज्जती तथा धाक–धम्की दिँदै आएको आरोप छ। प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता डीएसपी सरोज राई का अनुसार पक्राउ परेका डा. झामाथि सम्मानित जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइने जानकारी दिइएको छ।

पत्रकार अलिले गत फागुन ५ गते डा. झाले सञ्चालन गरेको क्लिनिकमा उपचारका क्रममा सर्लाहीको विष्णु गाउँपालिका–६ निवासी दलित विपन्न परिवारका ३ महिने बालक अभि बैठाको मृत्यु भएको विषयमा समाचार तयार गरेका थिए। आरोप अनुसार बालकको मृत्यु भएपछि क्लिनिकले मृतकका अभिभावकसँग ६० हजार रुपैयाँ माग गर्दै शवसहित दिनभर नियन्त्रणमा राखेको थियो। घटनाको जानकारी पाएपछि पत्रकार अलि क्लिनिक पुगेर समाचार संकलन गरेका थिए।

त्यसपछि डा. झाले समाचार हटाउन दबाब दिने, फोन तथा सामाजिक सञ्जालमार्फत अपशब्द प्रयोग गर्दै धम्की दिने गरेको पत्रकार अलिको भनाइ छ। घटनाबारे जानकारी पाएपछि नेपाल पत्रकार महासंघ सर्लाही शाखा र मधेश प्रदेश समितिले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै दोषीमाथि कडा कारबाहीको माग गरेका छन्।

महासंघले संविधानले सुनिश्चित गरेको पूर्ण प्रेस स्वतन्त्रताको अधिकारमाथि हस्तक्षेप स्वीकार्य नहुने उल्लेख गर्दै कुनै समाचारप्रति असन्तुष्टि भए कानुनी र संवैधानिक निकायमार्फत उजुरी दिन सकिने व्यवस्था हुँदाहुँदै पत्रकारलाई धम्क्याउनु अनुचित भएको जनाएको छ।