जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख एवं प्रहरी उपरीक्षक रबिन्द्रनाथ पौडेलले जिल्लाका पत्रकारहरूसँग परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रम आयोजना गर्नुभएको छ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीको सभाहलमा आयोजित कार्यक्रममा एसपी पौडेलले जिल्लामा शान्ति सुरक्षा मजबुत बनाउन सञ्चारकर्मीको भूमिका महत्वपूर्ण हुने बताउनुभयो। उहाँले लागूऔषध कारोबार, तस्करी तथा विभिन्न आपराधिक क्रियाकलाप नियन्त्रणमा सबैको सहयोग आवश्यक रहेको उल्लेख गर्नुभयो। साथै जिल्लाभर रहेका इलाका प्रहरी कार्यालय तथा प्रहरी चौकीलाई अझ प्रभावकारी बनाइने जानकारी दिनुभयो।

कार्यक्रममा नेपाल पत्रकार महासंघ सर्लाही शाखा का अध्यक्ष ओमप्रकाश ठाकुर ले पत्रकारहरू सत्य र छिटो सूचनाका लागि सधैं सक्रिय रहने भन्दै प्रहरी प्रशासनले सूचना प्रवाहलाई अझ सहज र प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो। उहाँले शान्ति सुरक्षाको क्षेत्रमा पत्रकार महासंघको सहयोग र साथ सधैं रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।

प्रहरी निरीक्षक बिशाल बुढाथोकी ले सञ्चालन गर्नुभएको कार्यक्रममा प्रहरी प्रवक्ता सरोज राई, प्रहरी निरीक्षक बिन्देश्वर यादव लगायत जिल्लाका क्रियाशील पत्रकारहरूको सहभागिता रहेको थियो।

सर्लाही सरुवा भई आउनुभएका एसपी पौडेलले बुधबार औपचारिक रूपमा पदभार ग्रहण गर्नुभएको हो।