सर्लाहीको लालबन्दीस्थित नगर अस्पतालमा औषधी प्रतिरोधी क्षयरोग उपचार केन्द्रको स्थापना गरिएको छ ।

राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्र सानोठिभी, भक्तपुरको सहयोगमा नगर अस्पताल लालबन्दीमा कडा किसिमको क्षयरोगीको उपचारका लागि ड्रग रजिष्टे«न्स डी. आर. टिबी सेन्टर स्थापना गरिएको हो । नगर अस्पतालमा यसअघि सामान्य किसिमका क्षयरोगीको मात्रै उपचार हुने गरेकामा अब ‘रिफामपिसिन’ र ‘आइसोनियाजाइड’ औषधी चलाउँदा समेत काम नगर्ने कडा किसिमका क्षयरोगीको उपचार गरिने अस्पतालका प्रमुख डा. चन्दन चौधरीले जानकारी दिए ।

सामान्य किसिमका क्षयरोगीलाई दुई हप्तासम्म औषधी चलाएपछि केही सुधार हुने गरेको र यदि सुधार नभए अब ‘जिन एक्सर्ट मेसिन’ प्रयोग गरेर सामान्य अवस्थाका क्षयरोगीलाई चलाइने ‘रिफामपिसिन’ र ‘आइसोनियाजाइड’ औषधीले काम गरे÷नगरेको परीक्षण गरी थप उपचार सुरु गर्ने सक्ने व्यवस्था मिलाइएको डा. चौधरीले बताए ।

कडा किसिमको क्षयरोगीको उपचार सेवा सुरु गर्न नगर अस्पतालका एक जना मेडिकल अफिसर र दुई जना सिनियर अहेबलाई आवश्यक तालिम प्रदान गरिएको छ । बिरामीको उपचारका लागि आवश्यक पर्ने औजार, उपकरण राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रले मधेश प्रदेशको स्वास्थ्य निर्देशनालयमार्फत नगर अस्पताललाई प्रदान गरेको डा. चौधरीले बताए । उनका अनुसार मधेश प्रदेशको जनकपुर र ढल्केबरपछि लालबन्दीमा औषधी प्रतिरोधी क्षयरोग उपचार केन्द्र स्थापना भएको हो ।

केन्द्रको आज राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका निर्देशक डा. प्रज्वल श्रेष्ठ र लालबन्दी नगरपालिकाका नगरप्रमुख बासुदेव अधिकारीले संयुक्त रुपमा उद्घाटन गरेका छन् ।

कार्यक्रममा मधेश प्रदेशको स्वास्थ्य निर्देशनालयका निर्देशक डा. श्रवणकुमार नायक, लालबन्दी नगरपालिकाका उपप्रमुख कल्पनामाया पाख्रिन, राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका जनस्वास्थ्य अधिकृत शिवशंकर महतो, नर्सिङ अधिकृत थुमा पुन, ल्याब टेक्निसियन इश्वरी प्रसाद भुषाल, मधेश प्रदेश स्वास्थ्य निर्देशनालयका डा. राजवीर यादव, स्वास्थ्य कार्यालय मलंगवाका बलिराम यादव, नगर अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मी, कर्मचारीलगायतको उपस्थिति रहेको थियो ।