सर्लाही, चन्द्रनगर गाउँपालिका-२ स्थित गेरुवा खोलाको जमेको पानीमा एक पुरुषको शव फेला परेको छ।  शनिवार साँझ करिब ४ बजे उक्त शव भेटिएको हो। घटनाको जानकारी प्राप्त भएपछि प्रहरी चौकी मोहनपुर र इलाका प्रहरी कार्यालय केसारगंजबाट खटिएको टोलीले घटनास्थल सुरक्षित राखेर अनुसन्धान सुरू गरेको छ। त्यसपछि जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट सिन क्राइम अफिसर (SOCO) सहितको टोलीले शवलाई पानीबाट बाहिर निकालेको थियो। शवको अवस्था हेर्दा जोगी जस्तो देखिने, विगत १०/१५ वर्षदेखि सो क्षेत्रमा मागी खाने अन्दाजी ४५-५० वर्ष उमेरको पुरुष रहेको बताइएको छ। तर, अहिलेसम्म मृतकको पहिचान खुलेको छैन। उक्त स्थान प्रहरी चौकी मोहनपुरबाट करिब ३.५ किलोमिटर उत्तर-पश्चिममा पर्छ। घटनाको सम्बन्धमा थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायव उपरिक्षक दिपक श्रेष्ठले जानकारी दिनुभयो ।