पाठेघरको मुखको क्यान्सरविरुद्ध सर्लाहीका १० वटा पालिकामा आजबाट किशोरीलाई एचपीभी खोप लगाउन सुरु गरिँदै छ । पहिलो चरणमा खोप अभियान संचालनका लागि छनौट गरिएका लालबन्दी, ईश्वरपुर, हरिपूर्वा, मलङ्गवा, हरिपुुर र कविलासी नगरपालिका तथा चन्द्रनगर, पर्सा, ब्रह्मपुरी र कौडेना गाउँपालिकामा खोप कार्यक्रम प्रारम्भ गर्न लागिएको हो । सरकारले विद्यालय जाने कक्षा ६ देखि १० सम्मका छात्रा तथा विद्यालय बाहिरका १० देखि १४ वर्षसम्मका किशोरीलाई पाठेघरको मुखको क्यान्सर हुनबाट रोक्न एचपीभी खोप निःशुल्क लगाउँदै छ ।

देशभर हिजैबाट अभियान सुरु भएपछि मधेश प्रदेशमा भने हिजो सरस्वती पूजाको मुर्ति विर्सजन गर्ने कार्यक्रम रहेकाले एक दिन ढिलागरी आजबाट खोप अभियान अघि बढाउन लागिएको हो । खोप कार्यक्रम संचालनका लागि प्रत्येक स्वास्थ्य संस्थाले तालिका नै बनाएर विद्यालयहरुमा पालैपालो स्वास्थ्यकर्मी परिचालन गर्दै छन् ।
सर्लाहीमा कक्षा ६ देखि १० सम्म अध्ययनरत् छात्रा तथा विद्यालय बाहिरका १० देखि १४ वर्षसम्मका ५१ हजार ७२४ जना किशोरीलाई एचपीभी खोप लगाउने लक्ष्य रहेको स्वास्थ्य कार्यालय मलंगवाका खोप फोकल पर्सन एवं जनस्वास्थ्य अधिकृत सुशीलकुमार झाले जानकारी दिए । झाका अनुसार जिल्लास्तरीय खोप कार्यक्रमको शुुभारम्भ सदरमुकाम मलंगवास्थित पब्लिक माध्यमिक विद्यालयबाट गरिँदै छ ।

पालिकाहरुले आ–आफ्नो हिसाबले उद्घाटन कार्यक्रम गर्ने छन् । पहिलो चरणमा आजबाट सुरु भएको खोप अभियान माघ २९ गतेसम्म चल्ने छ ।

त्यसपछि दोस्रो चरणमा फागुन १ गतेदेखि ७ गतेसम्म बलरा, गोडैता, बरहथवा, बागमती, हरिवन नगरपालिका तथा विष्णु, धनकौल, बसबरिया, रामनगर र चक्रघट्टा गाउँपालिकाका किशोरीलाई खोप लगाइने छ ।