पूर्व पश्चिम राजमार्ग अन्तर्गत सर्लाही र रौतहटलाई जोड्ने बागमती खोलाको पुल आज साँझबाट मर्मत गर्न सुरु गरिएको छ ।

पुलदेखि दक्षिणतर्फ एक साता लगाएर निर्माण गरिएको डाइभर्सनबाट सवारी साधन संचालन गरी पुलको मर्मत कार्य थालिएको हो । हिजैदेखि पुल मर्मतको काम सुरु गर्ने तयारी भएपनि डाइभर्सनतर्फबाट गाडी पास गराउँदा बिजुलीको नाङ्गो तारमा छुने जोखिम भएपछि आज दिनभरमा तार व्यवस्थापनको काम सकिएपछि साँझ पौने ५ बजेपछि पुलबाट सवारी आउजाउ पूर्णरुपमा बन्द गरी मर्मतको काम थालिएको सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरका इन्जिनियर गिरिसनन्दनप्रसाद तोरसले जानकारी दिए ।

नेपाल विद्युत् प्राधिकरणका प्राविधिक खटिएर आज दिनभर लगाएर डाइभर्सनबाट गाडी गुडाउँदा छुन सक्ने जोखिम रहेको तार व्यवस्थापन गरेर सकेका छन् । पाँच दिन भित्रमा पुलको मर्मत कार्य सम्पन्न हुने इन्जिनियर तोरसले बताए । उनका अनुसार ‘ब्यारिङ प्याडेस्टल’ को मर्मत पछि पुुलको दबिएको भागलाई उठाएर मात्रै ढलान गरिने छ ।

पुलमा आधुनिक प्रविधिबाट उच्च गुणस्तरको कङ्क्रिट हालेर ढलान गरिने छ । पुलमा समस्या आएपछि केही दिनअघि काठमाडौँस्थित पुल महाशाखाको टोली आएर निरीक्षण गरी फर्किएको थियो ।

महाशाखाको टोलीले दिएको सल्लाह सुुझाव अनुसार नै सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरका प्राविधिक तथा कर्मचारी खटिएर मर्मतको काम गर्न सुरु गरेका छन् ।

५५ वर्ष पुरानो बागमती खोलाको यो पुलमा बेलाबेलामा ढलान उप्किएर जिर्ण बन्दा टाल्ने काम हुँदै आएको छ । बागमतीसहित पूर्व पश्चिम राजमार्गका अन्य पुलहरु पनि जिर्ण अवस्थामा रहेका छन् ।