लालबन्दीमा यही फागुन २३ गतेदेखि चैत ४ गतेसम्म सञ्चालन हुने दोस्रो लालबन्दी महोत्सव २०८१ को तयारी तीव्र पारिएको छ। उद्योग वाणिज्य संघ, लालबन्दीका अध्यक्ष दिपेन्द्र कुमार बलाम्पाकीले पत्रकार सम्मेलन गर्दै महोत्सवबारे जानकारी दिएका छन्।

अध्यक्ष बलाम्पाकीका अनुसार महोत्सवलाई भव्य बनाउन विभिन्न कार्यक्रमहरू आयोजना गरिनेछ। महोत्सवमा राष्ट्रिय स्तरका कलाकारहरू सहभागी भई मनोरञ्जन प्रदान गर्नेछन्। साथै, कृषि, पर्यटन, उद्योग, र व्यापार प्रवर्द्धन गर्ने उद्देश्यले विभिन्न व्यापारिक तथा सांस्कृतिक स्टलहरू राखिनेछ।

महोत्सव सफलतापूर्वक सञ्चालन गर्न करिब ७२ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। सुरक्षा व्यवस्थालाई प्राथमिकता दिँदै शान्ति सुरक्षाका विशेष उपायहरू अपनाइने पनि अध्यक्ष बलाम्पाकीले बताए।

महोत्सवले स्थानीय उत्पादन तथा व्यापार प्रवर्द्धन गर्दै पर्यटन क्षेत्रलाई पनि टेवा पुर्‍याउने आयोजकहरूको विश्वास छ। लालबन्दी नगरपालिकाको संरक्षण र विभिन्न संघसंस्थाहरूको सहकार्यमा महोत्सवलाई व्यवस्थित रूपमा सञ्चालन गरिने तयारी भइरहेको छ।