सर्लाहीको बलरा नगरपालिका–३ निवासी १८ वर्षीय गोलु राय भारतीय सीमा पार बसेबिट्टा बजारबाट घरका लागि आवश्यक सामान खरीद गरी फर्किने क्रममा भारतीय सीमा सुरक्षा बल (एसएसबी) द्वारा गरिएको ज्यादतीका कारण गम्भीर घाइते भएका छन्।

स्थानीयका अनुसार पीडित युवक मोटरसाइकलमा सवार भएर नेपालतर्फ आउँदै गर्दा एसएसबीका जवानले पछाडिबाट लठ्ठी प्रहार गरेका थिए। लठ्ठी लागेपछि मोटरसाइकलको सन्तुलन बिग्रिएर उनी दुर्घटनामा परेका हुन्। दुर्घटनाका कारण उनको दाहिने खुट्टा काट्नु पर्ने अवस्था आएको तथा शरीरका विभिन्न भागमा चोटपटक लागेको बताइएको छ।

दशगजा भन्दा भित्र नेपालतर्फै उनीहरू कुटिएका थिए भन्ने स्थानीयको भनाइ छ। घाइते युवकको प्रारम्भिक उपचारपछि थप उपचारका लागि वीरगञ्जबाट काठमाडौँ रिफर गरिएको छ।

स्थानीय बासिन्दाले सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै सीमावर्ती क्षेत्रमा हुने यस्ता ज्यादती रोक्न प्रभावकारी पहल गर्न माग गरेका छन्। पीडित पक्षका अनुसार उनीहरूले कुनै अवैध क्रियाकलाप नगरेको स्पष्ट रहेको र निहत्था सर्वसाधारणमाथि गरिएको कारबाही अति नै निन्दनीय रहेको मानव अधिकार रक्षक संजालका अधयक्ष मुकेश मिश्रले बताउनुभयाे ।