हरिपुर्वा नगरपालिकामा अन्तर धार्मिक सञ्जाल सर्लाही र वर्ल्ड भिजन नेपालको संयुक्त आयोजनामा बाल विवाह तथा हानिकारक परम्परागत अभ्यासहरू विरुद्ध जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ।

बुधबार सम्पन्न कार्यक्रममा नगरपालिकाका जनप्रतिनिधि, नागरिक समाजका अगुवा, धर्मगुरुहरू, बालबालिका तथा विभिन्न सरोकारवालाहरूको सहभागिता रहेको थियो। कार्यक्रम निरन नेपाल सर्लाहीका अध्यक्ष डा. अब्दुर रहिम मिकरानीको अध्यक्षता तथा हरिपुर्वा नगरपालिका प्रमुख बिनोद साह तेलीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।

सामाजिक कुरीतिहरू विरुद्ध सहकार्यको आवश्यकता

कार्यक्रममा बाल विवाह तथा हानिकारक परम्परागत अभ्यासहरूको सामाजिक, धार्मिक तथा कानुनी प्रभावबारे छलफल गरिएको थियो। सहभागीहरूले नागरिक समाज र स्थानीय सरकारको सहकार्यलाई सशक्त बनाउँदै बाल विवाह रोकथाम तथा अन्य सामाजिक कुरीतिहरू उन्मूलन गर्ने विषयमा प्रतिबद्धता जनाएका थिए।

हरिपुर्वा नगरपालिका प्रमुख बिनोद साह तेलीले बाल विवाह नियन्त्रणमा सकारात्मक उपलब्धिहरू हासिल भए पनि लागू पदार्थको प्रयोग बढ्दै गएकाले त्यसलाई नियन्त्रण गर्नुपर्ने आवश्यकता औंल्याए। साथै, समाज सुधारका लागि गैरसरकारी संस्थाहरूको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरे।

कडा कानुन र सचेतना अभियानको माग

कार्यक्रममा अन्तर धार्मिक महिला सञ्जाल हरिपुरकी अध्यक्ष लक्ष्मी सुनुवार पासवानले स्वागत मन्तव्य राखेकी थिइन्। त्यस्तै, मानव अधिकारकर्मी मुकेश मिश्र, लालकृष्ण झालगायत स्थानीय जनप्रतिनिधिहरू, महिला समूह तथा नागरिक अगुवाहरूले बाल विवाह र अन्य सामाजिक कुरीतिहरू रोक्न कडा कानुनी व्यवस्थाको माग गरेका छन्।

कार्यक्रम निरन नेपालका जिल्ला सचिव तिलक क्षेत्रीले सञ्चालन गरेका थिए। सहभागीहरूले बाल विवाह तथा अन्य सामाजिक समस्याहरू निर्मूल पार्न निरन्तर सचेतना अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिए।