कृषि ज्ञान केन्द्र सर्लाही मलंगवा स्थित रहेको कार्यालय ठाउँ स्थानान्तरण गरिएको छ। मलंगवा जिविसचोक जिल्ला आदलत छेउँमा रहेको कार्यालय स्थान परिवर्तण गरि भाडाको घरबाट संचालनमा आएको छ। केन्द्रका प्रमुख तथा वरिष्ठ कृषि प्रसार अधिकृत कार्यालय प्रमुख कमलदेव प्रसाद कुशवाहाले जानकारी दिँदै, पुरानो केन्द्र भवन जीर्ण र साँघुरो भएको कारणले सेवा प्रवाहमा समस्या आएको बताउँनुभयो ।

“धेरै लामो समयदेखि एउटै कोठाबाट नै विभिन्न शाखाहरू सञ्चालन हुँदै आएको थियो। अहिले केही कर्मचारी थपिएका छन् तर टेबल(कुर्सी राख्नसमेत समस्या भइरहेको छ,” प्रमुख कुशवाहाले बताए।

हाल केन्द्र भाडाको घरमा सञ्चालनमा ल्याइएको छ। कुशवाहाले जानकारी दिँदै भने, “सबै सेवा कार्यहरू हाल नियमित रूपमा सञ्चालनमा छन्, तर यो अस्थायी व्यवस्था हो। मन्त्रालयले बजेट विनियोजन गरिसकेको भए पनि अघिल्ला वर्षमा बहुवर्षीय योजना नहुँदा भवन निर्माणको काम अघि बढ्न सकेन।”

उहाँका अनुसार, त्यसै स्थानमा केन्द्रको लागि अर्को भवन उपलब्ध भए पनि सो भवनमा अहिले प्रधानमन्त्री रोजगार कार्यक्रमको कार्यालय राखिएको छ, जसका कारण कृषि ज्ञान केन्द्रका लागि उपलब्ध ठाउँ उपयोग गर्न नसकिएको हो।

“यदि यसपालि मन्त्रालयले बजेटसहित बहुवर्षीय योजना ल्यायो भने २ देखि ३ वर्षभित्र नयाँ भवन र संरचना तयार गर्न सकिने सम्भावना छ,” प्रमुख कुशवाहाले बताए।