जनकपुरधामस्थित लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालको प्रादेशिक कार्यालय उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष महन्थ ठाकुरले नेपाली जनता विगतदेखि नै विभिन्न किसिमका आतङ्क र उत्पीडनको सिकार रहँदै आएको बताएका छन्।

उहाँले ऐतिहासिक परिप्रेक्ष्य प्रस्तुत गर्दै भन्नुभयो कि नेपाली जनता राणा शासनको निरंकुशता र राजतन्त्रको अत्याचारबाट लामो समयसम्म पीडित बनेका थिए। तर, राजतन्त्रको अन्त्यपछि पनि मधेसी जनता राज्यको विभेदकारी र दमनकारी व्यवहारबाट उन्मुक्त हुन नसकेको उहाँले गुनासो गर्नुभयो।

भारतको कश्मीरस्थित पहलगाम क्षेत्रमा भएको निर्दोष पर्यटकहरूमाथिको आतंकवादी आक्रमणको चर्चा गर्दै ठाकुरले धर्म र जातका आधारमा निर्दोषको हत्या गर्नु निन्दनीय कार्य भएको बताए। उनले मानवता र सहिष्णुतामाथि भएको आक्रमणलाई गम्भीर चिन्ताको विषय बताए।

नेपालभित्र समेत पछिल्ला दिनहरूमा धर्म र जातको नाममा घृणा र द्वन्द्व फैलाउने प्रवृत्तिहरू देखिएकोप्रति चिन्ता व्यक्त गर्दै, अध्यक्ष ठाकुरले सबै नेपाली समुदायबीच समानता, सद्भाव र सहकार्यको आवश्यकता अपरिहार्य रहेको बताए। उहाँले भन्नुभयो, “नेपाल बहुधार्मिक, बहुजातीय र बहुसांस्कृतिक देश हो, यहाँ सबै धर्म र जातको सम्मान र विकासले मात्र मुलुक समृद्ध बन्न सक्छ।”

धार्मिक राष्ट्र घोषणा सम्बन्धी उठिरहेको बहसप्रति टिप्पणी गर्दै उहाँले भने, “हिन्दु राष्ट्र बनाउनु ठूलो कुरा होइन; हिन्दु राष्ट्र घोषणा गर्दैमा पशुपतिनाथको लड्डु आफै घर–घरमा पुग्दैन। जबसम्म सबै वर्ग र समुदायको समान अधिकार सुनिश्चित हुँदैन, तबसम्म देशमा वास्तविक विकास र समृद्धि सम्भव हुँदैन।

कार्यक्रमको अन्त्यमा अध्यक्ष ठाकुरले पार्टीका नेता तथा कार्यकर्ताहरुलाई पार्टीलाई संगठित, सुदृढ र जनमुखी बनाउन अभियानमा लाग्न विशेष निर्देशन दिनुभयो। साथै, उहाँले पार्टीका आदर्श र उद्देश्यलाई व्यवहारमा उतार्दै जनताको विश्वास जित्न सबैलाई आग्रह गर्नुभयो।