लोकतान्त्रिक पार्टी नेपालका प्रदेशसभा सदस्य तथा सर्लाही क्षेत्र नं. १ का सांसद उपेन्द्र महतोको विशेष पहलमा इश्वरपुर नगरपालिका र चन्द्रनगर गाउँपालिकाका विभिन्न स्थानहरूमा टावर बत्ती जडान गरिएको छ। प्रदेश सरकारको आर्थिक सहयोगमा सम्पन्न यो योजनाले साँझपख अँध्यारोमा डुब्ने गाउँहरूलाई उज्यालो बनाइदिएको छ।

स्थानीयबासीहरूका अनुसार टावर बत्तीको जडानले गाउँ नै उज्यालो बनेको छ, जसले सुरक्षा र आवागमनमा सहजता ल्याएको छ। इश्वरपुर नगरपालिकाका ९ स्थान र चन्द्रनगर गाउँपालिकाका ९ स्थान जम्मा १८ स्थानमा टावर बत्ती जडान गरिएको प्रदेशसभा सदस्य महतोले जानकारी दिनुभयो।

महतोले भन्नुभयो, “बत्तीको व्यवस्था केवल उज्यालो मात्र होइन, सुरक्षाको प्रत्याभूति पनि हो। हामी आगामी दिनहरूमा अझ धेरै स्थानमा यस्ता विकास योजनाहरू अघि बढाउँदैछौं।”

स्थानीय जनप्रतिनिधिहरू तथा सर्वसाधारणले प्रदेशसभा सदस्य महतोको यो प्रयासको प्रशंसा गर्दै आगामी दिनमा यस्ता विकास निर्माणका कार्य निरन्तर भइरहने विश्वास व्यक्त गरेका छन्।