सर्लाहीको मलंगवा नगरपालिका–९ स्थित नागमनी टोलमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले चेकजाँचको क्रममा एक जनालाई गाँजासहित पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार, पक्राउ पर्ने व्यक्ति बरहथवा नगरपालिका–११ निवासी ३७ वर्षीय राम प्रवेश मुखिया हुन्। उनी प्रदेश २–०३–००७ प २५९३ नम्बरको मोटरसाइकलमा सवार भई आइरहेका बेला चेकजाँचका लागि रोकीएको थियो।

प्रहरीले मुखियाको पिठ्युमा रहेको कालो झोलाको तलासी गर्दा झोलाभित्र लुकाइ छिपाइ राखिएको अवस्थामा ७ किलो ४०० ग्राम गाँजा फेला पारेको हो। लागू औषधसहित पक्राउ परेका मुखियालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब उपरीक्षक (डिएसपी) सरोज राईका अनुसार, “पक्राउ परेका व्यक्तिमाथि लागू औषध सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको छ। अनुसन्धानका लागि सर्लाही जिल्ला अदालतबाट ७ दिनको म्याद लिइएको छ।

पक्राउ परेका मुखियाविरुद्ध लागू औषध नियन्त्रण ऐनअन्तर्गत मुद्दा दर्ता गरी आवश्यक प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।