नेपाली कांग्रेस जिल्ला कार्य समिति सर्लाहीले नयाँ वर्ष २०८२ को अवसरमा शुभकामना आदानप्रदान तथा विभागीय प्रमुख र सदस्यहरूको पदस्थापन कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रम शुक्रवार सदरमुकाम मलंगवास्थित कुसुम पार्टी प्यालेसमा आयोजना गरिएको सर्लाही कांग्रेसका सभापति सुरेन्द्र सिंहको अध्यक्षता तथा पार्टीका सह महामन्त्री एवम पुर्व मंत्री महेन्द्र यादवको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।

कार्यक्रममा मधेश प्रदेश सांसद एवं पूर्वमन्त्री बिरेन्द्र प्रसाद सिंह, प्रदेशसभा सदस्य जंगीलाल राय, कांग्रेस नेता शम्भु लाल श्रेष्ठ, जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख कौशल किशोर सिंह लगायत नेताहरूले स्वागत मन्तव्य दिएका थिए। उनीहरूले कार्यक्रमको सफल आयोजनाको शुभकामना दिँदै पार्टीको एकता, संगठन विस्तार तथा लोकतन्त्रको सुदृढीकरणमा जोड दिएका थिए।

कार्यक्रममा नेपाली कांग्रेसका प्रमुख सचेतक उमरकान्त झा, पूर्व सभापति नागेन्द्र कुमार, कविलासी नगरपालिकाकी उपप्रमुख पुणम कर्ण, इश्वरपुर नगरपालिका प्रमुख, चन्द्रनगर र पर्सा गाउँपालिकाका अध्यक्ष, तथा जिल्ला र प्रदेशस्तरीय नेताहरूको उपस्थिति रहेको थियो।

सहमहामन्त्री यादवले सम्बोधन गर्दै पार्टी महाधिवेशनभन्दा ‘मिशन २०८४’ अझ महत्वपूर्ण रहेको बताएका थिए। उनले संगठनलाई वडास्तरबाट सशक्त बनाउन निर्देशन दिँदै कांग्रेसभित्रको एकतालाई बलियो बनाउनु पर्ने आवश्यकता औंल्याए। “यदि पार्टीभित्रै अन्तरघात नहोस् भने गठबन्धनको आवश्यकता पर्दैन,” यादवले भने। पूर्वराजतन्त्र अब फर्किन नसक्ने उल्लेख गर्दै उनले नेपाली कांग्रेस जनताको गौरवशाली पार्टी भएको र लोकतन्त्र थप मजबुत भएको धारणा राखे। उनले सर्लाहीमा सभापति सुरेन्द्र सिंह नै पार्टीको आधिकारिक नेताको रूपमा रहेको समेत प्रस्ट पारे।

कार्यक्रमको अन्त्यतिर विभागीय प्रमुख तथा सदस्यहरूलाई सह महामन्त्री यादवले औपचारिक रूपमा शपथ गराएका हुन् ।