सर्लाहीको पर्सा गाउँपालिका–६ स्थित हुलाकी सडकखण्डमा प्रहरीले विशेष सूचनाको आधारमा निगरानी राखी नक्कली नोटसहित दुई जनालाई पक्राउ गरेको छ।

प्रहरी चौकी पर्साबाट प्रहरी नायब निरीक्षकको कमान्डमा खटिएको टोलीले जेठ ४ गते अपरान्ह ४:३५ बजे भारतीय नम्बर प्लेट BR 30 AP 7539 रहेको मोटरसाइकल रोकी चेकजाँच गरेको थियो।

चेकजाँचका क्रममा लालबन्दी नगरपालिका–६ निवासी २१ वर्षीय मुकेश कुमार साह को साथबाट ५०० रुपैयाँ दरका ४८ थान नक्कली नोट बरामद गरिएको हो। कुल रकम २४ हजार रुपैयाँ बराबरको नक्कली नेपाली नोट रहेको प्रहरीले जनाएको छ।

मोटरसाइकलको पछाडि सवार रहेका हरिपुर्वा नगरपालिका–४, डुमरिया निवासी २३ वर्षीय सरोज पण्डित समेतलाई पक्राउ गरिएको छ।

प्राप्त नक्कली नोट, प्रयोग गरिएको मोटरसाइकल र दुबै अभियुक्तलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी डीएसपी सरोज राईका अनुसार,नक्कली नोटसहित पक्राउ परेका दुवै व्यक्तिविरुद्ध आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको छ। उनीहरूलाई सर्लाही जिल्ला अदालतबाट पाँच दिनको म्याद थप लिई अनुसन्धान जारी छ।

प्रहरीले यस घटनालाई संगठित नक्कली नोट कारोबारसँग समेत सम्भावित सम्बन्धको रूपमा हेरेको छ र अनुसन्धान थप विस्तार गरिएको जनाएको छ।