सर्लाही सदरमुकाम मलंगवा नगरपालिका–८ मा आज दिउँसो कारले ठक्कर दिँदा एक वृद्ध महिलाको मृत्यु भएको छ।

दिउँसो करिब ३ बजे कुशुम पार्टी प्यालेस अगाडिको भित्री सडकखण्डमा गोरखकालीतर्फबाट मलंगवा जाँदै गरेको बि अार एई ९६६८ नम्बरको कारले सोही दिशामा हिँडिरहेकी पैदल यात्री हसिना खातुनलाई ठक्कर दिएको प्रहरीले जनाएको छ। मलंगवा नगरपालिका–३ की ७० वर्षीया खातुनलाई ठक्कर लाग्दा दाहिने कुममा गम्भीर चोट लागेको थियो।

घटनापछि उनलाई उपचारका लागि तत्काल प्रादेशिक अस्पताल, मलंगवा लगिएको थियो। तर अवस्था गम्भीर रहेकाले साँझ करिब ४ बजे चिकित्सकले मृत घोषणा गरेका हुन्।

दुर्घटनापछि जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट प्रहरी निरीक्षकको नेतृत्वमा टोली खटिएको थियो। कार चालक मलंगवाका नगरपालिका ८ का ३० वर्षीय अमित गुप्ता प्रहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।