सर्लाहीको लालवन्दीमा तीन दिने लागू औषधविरुद्धको तालिम सम्पन्न भएको छ।बागमती सेवा समाज नेपाल हरिवनको आयोजना र वर्ल्ड भिजनको सहयोगमा सञ्चालित तालिममा हारिपुर्वा नगरपालिका र पर्सा गाउँपालिकाका किशोर–किशोरीहरूको सहभागिता रहेको थियो।

तालिममा २५ जना सहभागीमध्ये १३ जना हारिपुर्वा र १२ जना पर्सा गाउँपालिकाबाट सहभागी भएका थिए। प्रशिक्षक जोसना डाँगीले सहभागीलाई लागू औषध सम्बन्धी जानकारी, यसको दुरुपयोगका असरहरू र समुदायमा कसरी चेतना फैलाउने भन्ने विषयमा प्रशिक्षण दिइन्।

तालिम “बाल संरक्षण, समुदाय संलग्नता र स्पोन्सरशीप परियोजना” अन्तर्गत सञ्चालन गरिएको आयोजक संस्था बागमती सेवा समाज नेपालकाप्रवेश वादेले जानकारी दिएका थिए।

समापन कार्यक्रम बागमती सेवा समाज नेपाल हरिवनका निवर्तमान अध्यक्ष भरत कुमार कार्कीको अध्यक्षतामा सम्पन्न भयो। कार्यक्रममा हरिपुर्वा नगरपालिकाकी उप–मेयर सुमिन्त्रा देवी ग्वारिन प्रमुख अतिथि थिइन्।

पर्सा गाउँपालिका–३ का वडा अध्यक्ष रघुनाथ साह, हारिपुर्वा नगरपालिकाका प्रशासकीय अधिकृत कुमार परियार,वर्ल्ड भिजन सर्लाहीकी जिल्ला संयोजक सीता चौधरीलगायत पर्सा गाउँपालिकाका सहजकर्ता नवल साह,महिला तथा बाल विकास शाखाका प्रमुख र अन्य जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष कार्कीले भने, “हामीले सिकेका कुरा व्यवहारमा उतार्न जरुरी छ। लागुऔषधजस्ता समस्याबाट समाजलाई जोगाउन निरन्तर सचेतना फैलाउनु आवश्यक छ। सहयोगी संस्थाको लगानीको प्रतिफल समुदायमा देखिन थालेको भन्दै अझ प्रभावकारी कार्यका लागि सहकार्य आवश्यक रहेको बताए।

तालिमपछि सहभागीहरूले आफ्ना विद्यालय र समुदायमा लागू औषध दुरुपयोगविरुद्ध सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने योजना बनाएका छन्। उनीहरूलाई प्रमाणपत्र प्रदान गरिनुका साथै समुदायमा अझ सशक्त र सक्रिय हुन प्रेरित गरिएको आयोजक संस्थाले जनाएको छ।