सर्लाहीको बरहथवा नगरपालिकामा जिल्लाभरिका उत्कृष्ट सामुदायिक विद्यालयहरू, प्रधानाध्यापकहरू तथा सेवा निवृत्त शिक्षकहरूलाई एक विशेष समारोहबीच सम्मान गरिएको छ।

राम नारायण साह कलवार फाउन्डेसनको आयोजनामा बिहीबार बिहान सम्पन्न कार्यक्रममा उत्कृष्ट योगदान दिएका १० जना शिक्षक तथा प्रधानाध्यापकहरूलाई सम्मानपत्र प्रदान गरिएको हो ।फाउन्डेसनकी अध्यक्ष ईन्दु देवीको अध्यक्षता तथा शिक्षा इकाईका निमित्त प्रमुख रामवृक्ष महतोको प्रमुख अतिथ्यतामा रहेको थिए।

थ्रीकम इन्टरनेसनल स्कुलमा भएको कार्यक्रममा मलंगवा नगरपालिका शिक्षा प्रमुख प्रमोद मण्डल, शिक्षा अधिकृत,विभिन्न विद्यालयका शिक्षक, कर्मचारी तथा सेवा निवृत्त शिक्षकहरूको उपस्थिति रहेको थियो।

शिक्षा इकाई प्रमुख महतोले स्व.राम नारायण साह कलवारप्रति श्रद्धाञ्जली अर्पण गर्दै फाउन्डेसनको पहलले जिल्लाको शिक्षा क्षेत्रमा सकारात्मक सुधार ल्याउने विश्वास व्यक्त गरे। उनले सम्मानित शिक्षकहरूको योगदानको प्रशंसा गर्दै आगामी दिनमा अझ धेरै विद्यालय र शिक्षकहरूलाई सम्मान गरिने विश्वास व्यक्त गरे।

विशिष्ट अतिथि प्रमोद मण्डलले स्व. राम नारायण साह कलवारको योगदानको चर्चा गर्दै फाउन्डेसनले उहाँको नाम अमर बनाउन सफल भएको बताए। उनले संस्थाको मुख्य उद्देश्य शिक्षा क्षेत्रमा सहयोग गर्नु रहेको उल्लेख गरे।

कार्यक्रममा सम्मानित तथा सेवा निवृत्त शिक्षकहरूले आफ्ना अनुभव र मन्तव्य प्रस्तुत गरेका थिए।